‘धरान रन’को उपाधि दुई केन्याली धावकलाई

धरान : केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन्।
शनिबार सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन्।
दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लाग्यो। धावकद्वयलाई नगद ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन्।
उनीहरूलाई पनि समान नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरूलाई नगद ३० हजार रुपैयाँ प्रदान गरिएको थियो।
प्रतियोगितामा चार हजार धावक सहभागी थिए।
फागुन १०, २०८१ शनिबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।