झापा पुगेर ओलीलाई पुनको प्रश्न- तपाईंको प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी कि भ्यूटावर?

झापा : माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्यूटावरवाला विकासे मोडल’मा गम्भीर त्रुटी भएको बताएका छन्।
झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री ओलीको ‘भ्यू टावर’ विकास मोडल अनुत्पादक भएको बताउँदै त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ। ओलीजीले दमकमा ठूलो भ्यू टावर ठड्याउनुभयो’, पुनले भने, ‘प्रधानमन्त्री ओलीले भ्यू टावरलाई विकासको मोडल बनाउनुभयो। उहाँको विकासको मोडलमा गम्भीर त्रुटी छ।’
ओलीको निर्वाचन क्षेत्र झापा-५ मा मात्र ४ देखि ५ हजार हाराहारी सुकुम्बासी रहेको भन्दै पुनले पहिला भ्यू टावरभन्दा पहिला ओलीले उनीहरुलाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने सोच्न नसकेको टिप्पणी गरे।
उनले थपे, ‘आफू र आफ्नाहरूको मस्तीका लागि गरिब जनता चुस्ने प्रवृत्ति निरंकुश शासनमा हुन्छ। लोकतन्त्रमा यस्तो हुनुहुँदैन। विकासका आयोजना बनाउँदा आफ्नो नाम आउने गरी होइन, जनताका प्राथमिकता हेर्नुपर्छ।’
लोकतन्त्रमा संविधान र कानूनभन्दा माथि कोही नहुने भन्दै पुनले कानूनी रूपमा प्रश्न उठेपछि प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष वा जतिसुकै प्रभावशाली व्यक्ति भए पनि छानबिन र अनुसन्धानको दायरामा आउनुपर्ने उल्लेख गरे।
काठमाडौं, पोखरा र मोरङका सहकारीको बचत अपचलनमा संलग्नमाथिको अनुसन्धान र अभियोजनमा सत्तापक्षका मानिस र अरुलाई फरक व्यवहार भएको टिप्पणी गरे।
मानव तस्करसँगको साँठगाँठमा जापान गएका कोशी प्रदेशका मन्त्री लीलाबल्लब अधिकारीलाई उन्मुक्ति र पैसा बुझाए उनीसँग गएका युवाहरुमाथि कारबाही हुनुले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो।
फागुन १०, २०८१ शनिबार १३:४६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।