राजाले जनतालाई साथ दिन आह्वान नै गरेपछि गृहमन्त्रीले भने- ‘लोकतन्त्रको विकल्प छैन’

राजाले जनतालाई साथ दिन आह्वान नै गरेपछि गृहमन्त्रीले भने- ‘लोकतन्त्रको विकल्प छैन’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरिरहेका बेला गृहमन्त्री रमेश लेखकले भने लोकतन्त्रको विकल्प नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए।

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उनले भने।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्न आग्रह गरेका थिए।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं। नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं,’ उनले भनेका थिए, ‘अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौँ।’

फागुन १०, २०८१ शनिबार १३:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।