बालुवाटारको चियापान समारोहमा बसेर शेखरको आरोप- ‘राज्यले कर्णालीलाई वेवास्ता गर्‍यो’

बालुवाटारको चियापान समारोहमा बसेर शेखरको आरोप- ‘राज्यले कर्णालीलाई वेवास्ता गर्‍यो’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई वेवास्ता गरेको आरोप लगाएका छन्।

बालुवाटारमा शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई दिनुपर्ने जति महत्त्व नदिएको बताए।

‘राज्यले कर्णालीलाई जसरी हेर्नुपर्ने हो, त्यसरी हेरेको छैन। कर्णाली हाइड्रोपावर, होमस्टे, जडिबुटीको लागि उत्तिकै राम्रो छ,’ उनले भने, ‘तर जडिबुटि त्यहाँबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन। त्यहाँ प्रशोधन गर्न राज्य लाग्नुपर्यो।’

उनले कांग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए।

उनले थपे, ‘तपाईंहरू प्रजातन्त्र सेनानीहरू नै हो नेपाली कांग्रेसको खम्बा। कांग्रेस अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ। एक पटक कांग्रेसलाई फेरि बचाउनुपर्ने छ।’

उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरूलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाउँमा ल्याउन सहयोग गर्ने पनि बताए।

फागुन १०, २०८१ शनिबार ११:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।