शिरी बिबास भनिएको अर्को शव हमासद्वारा रेडक्रसलाई हस्तान्तरण, इजरायलले थाल्यो अनुसन्धान

एजेन्सी : हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ।
इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेका छन्।
यसअघि बिहीबार हमासले इजरायललाई चार शव हस्तान्तरण गरेको थियो। हमासले ती चार शवमध्ये एक शव शिरी बिबासको भएको दाबी गरेको थियो।
तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको छ।
अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै यो कुराको पुष्टि गरेका छन्।
७ अक्टोबर २०२३ मा, हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। यी व्यक्तिहरूको मृत्युको खबरले इजरायलमा क्रोध र शोकको लहर फैलिएको छ।
इजरायली डिफेन्स फोर्सको गुप्तचर र फोरेन्सिक अनुसन्धानमा नोभेम्बर २०२३ मा दुवै बालबालिकालाई क्रूरतापूर्वक हत्या गरिएको थियो।
तर, हमासले भने इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा शिरी बिबास तीनै जनाको मृत्यु भएको बताएको छ।
यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।
फागुन १०, २०८१ शनिबार ०९:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।