डिआइजी बढुवामा निरीह देखिए सशस्त्रका आइजिपी: वरियता छाडेर नेताको 'बहिनी ज्वाइँ' को सिफारिस

डिआइजी बढुवामा निरीह देखिए सशस्त्रका आइजिपी: वरियता छाडेर नेताको 'बहिनी ज्वाइँ' को सिफारिस

काठमाडौं : सशस्त्र प्रहरी बलमा हालै भएको डिआइजी बढुवा सिफारिसमा योग्यता र वरियता भन्दा पनि शक्ति केन्द्रको निकटतालाई प्राथमिकता दिएको छ।

सशस्त्र प्रहरी बल नेपालले बिहीबार निकालेको बढुवा सिफारिस सूचीमा वरिष्ठ अधिकृतलाई छाडेर कनिष्ठहरूलाई सिफारिस गरिएको छ। बढुवा सिफारिसमा सशस्त्रका प्रहरी महानिरीक्षक निरीह देखिएका छन्।

बढुवा सिफारिस समितिले बिहीबार रिक्त रहेको डिआइजीका लागि कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टको नाम सिफारिस गर्यो। सिफारिसमा परेकामध्ये कुँवर र भट्ट क्रमशः सातौँ र आठौँ वरियताका हुन्।

सर्वोच्च अदालतको निर्देशन विपरीत ६ महिनासम्म सङ्गठनले बढुवा रोकेर अन्तमा वरिष्ठ अधिकृतहरूलाई छाडेर शक्तिकेन्द्रको पहुँचका आधारमा कनिष्ठ अधिकृतहरूलाई बढुवाको सिफारिस गरेको देखिन्छ।

बढुवा सिफारिसमा परेका कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाइँ हुन्। उनलाई बढुवा गर्न यसअघि पनि सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो।  २०७९ मा एसएसपीमा बढुवाकोक्रममा समेत उनलाई अगाडि तानेर दुई नम्बरमा बढुवा सिफारिस हुँदा संगठनमा विवाद भएको थियो। विवादले उनको बढुवामा प्रभाव परेन।

अहिले गृहमन्त्रीमा नेपाली कांग्रेसका सांसद रमेश लेखक छन्। उनी पार्टीको आन्तरिक राजनीतिमा पार्टी सभापति देउवा निकट हुन्।

त्यसैको प्रभावमा वरिष्ठ अधिकृतहरू कृष्णराज पाठक, मनीष थापा र प्रवीण कँडेल हुँदाहुँदै उनीहरूको साटो कुँवर बढुवा सिफारिसमा परे। पाठक र कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर सशस्त्रमा गएका अधिकृत हुन्। थापा सी.सं. १ ब्याचका स्टाफ कलेज उत्तीर्ण अधिकृत हुन्।

सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने कानुनी व्यवस्था छ।

फागुन ९, २०८१ शुक्रबार २३:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।