माधव नेपालको प्रतिवेदन : एमाले वा माओवादी कसैसँग तत्काल पार्टी एकीकरण हुन्न

काठमाडौँ : माओवादी केन्द्रका नेताहरूले एकीकृत समाजवादीसँग एकीकरण हुनसक्ने दाबी गरिरहेको बेलामा सो पार्टीले तत्काल एमाले वा माओवादीलगायत राजनीतिक दलसँग एकीकरणको कुनै सम्भावना नरहेको सार्वजनिक गरेको हो।
शुक्रवारबाट जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि पार्टीसँग तत्काल एकीकरणको सम्भावना नरहेको उल्लेख छ।
पार्टी समाजवादी विचार र लक्ष्यमा प्रस्ट रहेको दाबी गर्दै तत्कालीन अवस्थामा एमालेमा गरेको विद्रोहको औचित्य पुष्टि भएको उल्लेख छ।
प्रतिवेदनमा पार्टीलाई बलियो बनाएर लैजाने साथै वर्तमान सरकारले दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको उल्लेख गरिएको छ।
समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिइरहेको भन्दै बैठकमा अध्यक्ष नेपालले निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता पेस गरेका थिए।
बैठकमा महासचिव घनश्याम भुसालले मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे तालिका प्रस्ताव गरेका थिए।
पार्टीका जिल्ला अधिवेशनहरू गर्ने प्रस्तावमा सबै जनसङ्गठन, विभागसहित अन्य सङ्घ संस्थाहरूबाट आगामी चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलन गर्ने कार्यक्रम छ। शनिवारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ। बैठक भोलि शनिवार ११ बजे पुनः बस्ने गरी स्थगित भयो।
फागुन ९, २०८१ शुक्रबार २३:१०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।