नेपाल चाँडै एफएटिएफको ग्रे लिस्टबाट बाहिरिने अर्थमन्त्रीको दाबी

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवैध धनको खोजी सम्बन्धी नेपालको एक्सन प्लान स्वीकृत भएकाले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने दाबी गरेका छन्।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको दाबी गरे।
उनले पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको र एक्सन प्लानअनुसार प्रभावकारी रूपमा काम गरेर निर्धारित समयअगावै ग्रे लिस्टबाट बाहिर निस्कने दाबी गरेका हुन्।
पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा राख्ने निर्णय गरेको थियो। नेपाल दोस्रो पटक यस्तो सूचीमा परेको हो।
एफएटीएफको एसिया प्यासिफिक ग्रुप (एपीजी)को सन् २०२३ को मूल्याङ्कन प्रतिवेदनले औँल्याएका कमजोरीहरूमा सुधार नगरेपछि नेपाल ग्रे लिस्टमा परेको हो।
वित्तीय सूचना इकाई (एफआईयू)को रिपोर्टिङ प्रणाली कमजोर रहेको, सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान क्षमता अपर्याप्त, आतङ्कवादी वित्तीय लगानी पहिचान गर्ने क्षमता न्यून र गैर बैङ्किङ क्षेत्रको नियमन कमजोर रहेको भन्दै उसले नेपाललाई ग्रे लिस्टमा राखेको हो।
ग्रे लिस्टमा परेपछि देश र नागरिक दुवैलाई प्रत्यक्ष असर पर्ने छ। यसले अन्तर्राष्ट्रिय व्यापारमा थप कागजात र प्रक्रिया लम्बिने छ। विदेशी लगानी आकर्षण गर्न कठिन हुनेछ। बैङ्किङ कारोबारमा थप जटिलता आउने, रेमिटेन्स पठाउने खर्च बढ्ने, विदेशी बैंकमा खाता खोल्न कठिन हुनेछ भने अन्तर्राष्ट्रिय कारोबारमा थप समय र लागत बढ्ने देखिन्छ।
यो पनि :
फागुन ९, २०८१ शुक्रबार २३:०२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।