सरकारको कामको भण्डाफोर गर्न माओवादीले तराई-मधेस जागरण अभियान गर्ने

काठमाडौं : संगठन सुदृढीकरण गर्न माओवादी केन्द्रले जनतासँग माओवादी : तराई‑मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।
माओवादीले संविधान रक्षा गर्न, दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, मिटरव्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन अभियान गर्न लागेको बताएको छ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जनस्तरमा संगठन सुदृढीकरणका लागि पार्टीले जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ मा झापाबाट सुरुवात गरी चैत्र ८ मा कञ्चनपुरमा गएर अभियान समापन हुने बताए।
‘जनस्तरमा संगठन सुदृढीकरणका लागि पार्टीले जनतासँग माओवादी अभियानअन्तर्गत फागुन १२ गते झापाबाट सुरुवात गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने छ। हुलाकी मार्ग एवं पूर्व–पश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यतालिका रहेको छ’ उनले भने।
उनका अनुसार फागुन १० र ११ गते स्थानीय पालिकाका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्नेछ। उक्त भेलामा पालिकाका प्रमुख ,उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरूको सहभागिता रहने छ।
प्रवक्ता सापकोटाले अभियानले सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेकाले त्यसको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिने बताए।
फागुन ९, २०८१ शुक्रबार २१:०७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।