नगर प्रमुखको छोराबाट कुटाइ खाएका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रलाई काममा अवरोध नगर्न अदालतको आदेश

जनकपुर : उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रूपमा कार्यालयमा काम गर्ने वातावरण मिलाउन आदेश दिएको छ।
विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए।
सो रिटको सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागुन १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा अवरोध नगर्न भनेको हो।
साह गत फागुन २ मा विदेहको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए। निमित्तको हैसियतमा कार्यरत साहलाई माघ २८ मा नगरप्रमुख दासका छोराले हातपात गरेका थिए।
सो हातपात भएकै दिन साहले नगरपालिकाका ८० भन्दा बढी कर्मचारीलाई स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने तह वृद्धि रोक्का राख्ने, नियुक्ति बदर गर्ने लगायतका काम गरेका थिए।
यो प्रकरणमा विवाद बढ्दै गएपछि साहलाई नगरपालिकामा हाजिर हुन दिइएको थिएन। हाजिर गर्न नदिएपछि जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई प्रमुख जिल्ला अधिकारीले ४ दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न वातावरण नबनाइदिएपछि साहले उच्च अदालतमा रिट दायर गरेका थिए।
विवाद भइरहेका बेला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव मोहन कुमार श्रेष्ठलाई खटाइसकेको छ।
फागुन ९, २०८१ शुक्रबार २०:५९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।