‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ मा महेन्द्र पी लामादेखि रञ्जन अडिगासम्म सहभागी हुँदै

पोखरा : एनसेल फाउन्डेसनको सहकार्यमा फागुन १५ देखि १८ सम्म पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। यो फेस्टिभलको बाह्रौँ संस्करण हो। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिभल पोखराको बाराहीघाट, लेकसाइडमा हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रमको उद्घाटन सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन्। फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन्।
फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश रहेको आयोजकले जानकारी दिएको छ।
फेस्टिभलमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत् प्रवचनमा दिनेछन्। उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आईजीएओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्।
अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद रहेको छ। अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश सोही फेस्टिभलमा लोकार्पण हुँदैछ।
उद्यमी एव लेखक जीवा लामिछानेको पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण फेस्टिभलमा हुनेछ। क्रिकेट एसोसिएसनका सचिव पारस खड्का, भूषिता वशिष्ठ, डा. भगवान् कोइराला, म्यागी डोएन लगायतका फेस्टिभलमा सहभागी हुँदैछन्। फेस्टिभलमा नेपाली अमेरिकी लेखक रञ्जन अडिगासमेत सहभागी हुँदैछन्।
फागुन ९, २०८१ शुक्रबार १९:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।