नेपाली विद्यार्थीमाथि भएको दमनमा भारतीय  विदेश मन्त्रालयका प्रवक्ता रणधीरले भने '  अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा उच्च प्राथमिकतामा'

नेपाली विद्यार्थीमाथि भएको दमनमा भारतीय  विदेश मन्त्रालयका प्रवक्ता रणधीरले भने '  अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा उच्च प्राथमिकतामा'

काठमाडौं : ओडिशाको  भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा बोल्दै भारत विदेश मन्त्रालयले भारतमा रहेका विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ।

शुक्रवारको नियमित साप्ताहिक मिडिया ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाली छात्राको दुःखद निधनबाट निकै मर्माहत भएको बताउँदै भारत सरकारले देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिने बताए।

जयसवालले भारतको विदेश मन्त्रालय ओडिसा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र ओडिसा सरकारले नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको बताए। उनले सो विश्वविद्यालयमा सुरक्षासहित शैक्षिक गतिविधिमा संलग्न हुने वातावरण बनाउन काम गरिरहेको बताए।

जयसवालले ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर यो मुद्दालाई हेरिरहेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कानुनअनुसार कारबाही हुने बताएका थिए।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यसपछि सृजित वातावरण सम्हाल्नुको साटो विश्वविद्यालय प्रशासन नेपाली विध्यार्थीहरुप्रति क्रूर बन्दै अमानवीय व्यवहार गरेका थिए। त्यसको विरोधमा नेपालीसँगै भारतीय विध्यार्थीहरु समेत आन्दोलित भएका थिए।

आन्दोलन दबाउन नेपाली विध्यार्थीहरुलाई होस्टलबाट निकालेर बसमा राखी रेल्वे स्टेसनमा लगेर छाड्ने, उनीहरूमाथि प्रतिबन्ध लगाउने र कलेजका सुरक्षागार्ड र बाउन्सरमार्फत कुटपिट गराएको दृश्यहरू सार्वजनिक भएको थियो विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।

फागुन ९, २०८१ शुक्रबार १९:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।