नेपाल प्रहरी विधेयकमा ५२ संशोधन प्रस्ताव दर्ता, सत्तापक्षकै १७ संशोधन

काठमाडौँ : 'नेपाल प्रहरी विधेयक, २०८१' मा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबाट ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिपक्षी दलका सांसदहरूले ३५ र सत्तापक्षका सांसदहरूले १७ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
नेपाल प्रहरीको चेन अफ कमान्ड निजामतीमा लैजाने प्रावधान सहित विधेयक आएपछि यसको संशोधनको माग भइरहेको छ। प्रहरी महानिरीक्षकको नियुक्तिको प्रक्रिया पारदर्शी छैन, प्रहरीको सरुवाको मापदण्ड र बढुवाको मापदण्ड समेत विधेयकले प्रस्ट खुलाउन सकेको छैन।
प्रतिपक्षी दलतर्फ माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १३-१३, एकीकृत समाजवादीले ५, राप्रपाले २ र नेपाल मजदुर किसान पार्टीले १ प्रस्ताव दर्ता गरेका छन्।
सत्तापक्षबाट एमालेले ९, कांग्रेसले ५, जसपा, जनमत र लोसपाले १-१ संशोधन प्रस्ताव दर्ता गराएका छन्। यस्तै, सरकारलाई समर्थन नगरेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि एक प्रस्ताव दर्ता गरेका छन्।
विधेयकमा १० सामूहिक र ४२ एकल गरी कुल ५२ संशोधन प्रस्ताव दर्ता भएका छन्। सामूहिक प्रस्तावमा कांग्रेसले ४, एमालेले २ तथा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीले १-१ वटा दर्ता गराएका छन्।
फागुन ९, २०८१ शुक्रबार १७:४५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।