प्रधानमन्त्री ओली भन्छन्: 'सामाजिक सञ्जाल विधेयक माओवादीसँगै बसेर बनाएका हौँ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विधेयक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग मिलेर तयार पारिएको दाबी गरेका छन्।
माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद्मा र अभिव्यक्ति स्वतन्त्रताका पक्षहरूले सडकमा सो विधेयकको विरोध गरिरहेका छन्। विधेयकमा रहेका केही प्रावधानहरूले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई सिधै सङ्कुचित बनाउँछ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रवार बोल्दै ओलीले विधेयकको विरोधमा उत्रिएका माओवादीहरूले विगतमा टिकटकमाथि प्रतिबन्ध नै लगाएको उल्लेख समेत गरेका थिए।
‘अहिले विरोध गर्ने र चर्को स्वरमा बोल्ने सांसदका केही दलहरू, विशेष गरी माओवादी, यही विधेयक बनाउँदा हामीसँगै थिए,’ उनले दाबी गरे।
प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रतामा कुनै बन्देज नलगाइने तर देशको शान्ति सुरक्षा र अमनचयन खलबल्याउने गरी जथाभाबी बोल्न नपाइने बताए।
‘हामी बोल्न नपाउने समाजबाट आएका हौँ, बोल्न नपाएका विरुद्ध लडेर आएका हौँ। त्यसैले कसैको पनि अधिकार मिच्ने गरी कानुन बन्दैन,’ उनले थपे।
फागुन ९, २०८१ शुक्रबार १७:३४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।