हमाससँगको युद्धविराम जारी रहेकै अवस्थामा तेल अभिभको पार्किङमा राखिएका तीन बसमा विस्फोट

हमाससँगको युद्धविराम जारी रहेकै अवस्थामा तेल अभिभको पार्किङमा राखिएका तीन बसमा विस्फोट

एजेन्सी : हमाससँगको युद्धविराम जारी रहेको बेला इजरायलको प्रमुख शहरहरू मध्ये एक तेल अभिभको दक्षिणमा अवस्थित बाट याम र होलोन शहरमा तीनवटा बसमा विस्फोट भएको छ।

यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन। पार्किङमा पार्क गरिराखिएको बस खाली रहेको इजरायली प्रहरीले जनाएको छ। उसका अनुसार यो एक शंकास्पद आतंकवादी हमला हो।

इजरायली प्रहरीले दुई अन्य बसहरूमा बम विस्फोट गराउने उद्देश्यले राखिएका उपकरणहरूलाई पनि निष्क्रिय पारेको बताएको छ। प्रत्येक उपकरणमा ५ किलोग्राम विस्फोटक पदार्थ रहेको टाइम्स अफ इजराइलले जनाएको छ।

प्रहरीले घटनास्थलको निरीक्षण र संदिग्धहरूको खोजी गरिरहेको बताएको छ भने बम निस्क्रिय पार्ने व्यक्तिहरूले वरपर अन्य कुनै शंकास्पद वस्तुहरूको खोजी गरिरहेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्रधानमन्त्रीले अवस्थाको बारेमा निरन्तर अपडेटहरू प्राप्त गरिरहेको र बिहीबार राति अबेर सुरक्षा मूल्याङ्कन गरेको बताएको छ।

मूल्याङ्कनपछि प्रधानमन्त्रीको कार्यालयले इजरायली डिफेन्स फोर्स (आईडीएफ)लाई आतंकवादी केन्द्रहरू विरुद्ध वेस्ट बैंकमा ठूलो कारबाही सुरू गर्न निर्देशन दिएको घोषणा गरेको छ।

इजरायलका यातायात मन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमन रोक लगाएकी छन्। ती बसै बस रेलहरूमा विस्फोटक पदार्थबारे जाँच गरिसकेपछि मात्र सञ्चालनमा ल्याइने बताइएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा ‘गतिविधि बढाउन’ आदेश दिएका छन्।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा इजरायल प्रहरी र शिन ब्याट सुरक्षा एजेन्सीसँग मिलेर बट याममा भएको घटनाको अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।

फागुन ९, २०८१ शुक्रबार ०८:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।