‘अरू देश सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्कियौँ’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो नीतिले गाइड गर्न नसकेको भन्दै टेलिकम नीति संशोधन गर्नुपर्ने बताए।
बिहीबार टेकपानाले आयोजना गरेको कार्यक्रममा उनले प्रविधिका धेरै कुराहरू परिवर्तन गर्न नयाँ निती चाहिएकाले सरकारले त्यसको तयारी गरिरहेको बताए। भन्नलाई फोरजी चल्छ भने पनि अधिकांश टुजी, थ्रीजी मात्र चलिरहेको उनले बताए।
उनले सबै देशहरु सिक्सजीमा जाने समयमा नेपाल भने फाइभजीमा पनि पुग्न नसकेको भन्दै अहिले फोरजीलाई नै व्यवस्थित गर्न नसकेकाले फाइभजी लन्च गर्न ठुलो चुनौती भएको बताए।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जब्बोर कायुमोभले विदेशी लगानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनुपर्ने बताए। उनले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था बदल्नुपर्ने बताएका थिए।
‘यदि कसैले २० वर्ष लगाएर घर बनायो र पाँच वर्षपछि त्यो घर आफ्नो हुँदैन भन्ने थाहा पाएमा उसले थप लगानी गर्छ कि गर्दैन ? उनले प्रश्न गरे, ‘यी प्रश्न आधारभूत हुन्, तर यसलाई नजरअन्दाज गर्नु हुँदैन। यस विषयमा नियामक निकायले स्पष्टता दिनुपर्छ। विदेशी लगानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनुपर्छ।’
उनले भारतलगायतका देशहरूमा भइरहेको लगानीको उदाहरण दिँदै नेपालले पनि लगानी भित्र्याउन ध्यान दिनुपर्ने बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकम नीति निकै पुरानो भएको बताए। उनले टेलिकम क्षेत्रको विकासका लागि समयसापेक्ष नीति निर्माण र कर प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए।
उनले भने,‘टेलिकम पोलिसी धेरै पुरानो भयो। यो पोलिसीलाई बदल्नुपर्छ जस्तो लाग्छ। टेलिकम क्षेत्रको विकासका लागि समयसापेक्ष नीति निर्माण र कर प्रणालीमा सुधार गर्नुपर्नेछ। अवलम्बन गर्न खोजेका नीतिहरू अन्य देशहरूमा सफल भइसकेका छन्, त्यसैले यस विषयमा छलफल गर्न आवश्यक छ।’
फागुन ८, २०८१ बिहीबार १६:४५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।