बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी : निर्माण सामग्री उत्पादन गर्ने नेपाली कम्पनीहरूको सङ्ख्या ६० प्रतिशत रहेको भन्दै खुसी भए मन्त्री

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी : निर्माण सामग्री उत्पादन गर्ने नेपाली कम्पनीहरूको सङ्ख्या ६० प्रतिशत रहेको भन्दै खुसी भए मन्त्री

काठमाडौँ : बिहीबारबाट भृकुटीमण्डपमा १० औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भयो। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका थिए।

चार दिनसम्म चल्ने प्रदर्शनीमा १ सय ५० वटा कम्पनीसँगै तीन सय भन्दा बढी ब्रान्ड सहभागी छन्। प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री दाहालले नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या लगभग ६० प्रतिशत रहेको भन्दै त्यसले आफू प्रभावित भएको बताएका थिए। 

‘नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या लगभग ६० प्रतिशत छ। यहाँ नेपाली उत्पादनहरू धेरै छन्। प्रदर्शनीले मलाई अत्यन्तै प्रभावित पारेको छ।’

बिहीबारबाट सुरु देखि सुरु भएको प्रदर्शनी ११ गतेसम्म चल्ने छ। प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरूका १५० बढी स्टल रहेका छन्। 

अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एन्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिड्स, पाइप, टायल्स एन्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरू रहेका छन्।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा चार दिनमा ४५ हजार जनाले अवलोकन गर्ने आयोजकको आङ्कलन देखियो। मेलामा बिल्डिङ कन्स्ट्रक्सन सम्बन्धित कन्ट्याक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर लगायत यो क्षेत्रमा काम गरिरहेका डिस्ट्रिब्युटर्स, डिलर्सहरु सहभागी छन्। प्रदर्शनी व्यवसायिक अपार्टमेन्ट र निजी घर बनाउन संलग्न नागरिक लक्षित गरिएको हो।

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ। 

फागुन ८, २०८१ बिहीबार १६:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।