भक्तपुरका ‘हाडा सर’को हिजोका कुरा : किताबै नभए पनि विद्यार्थीले मिहेनत गर्थे, दश महिना गाउँमा सेवा गर्न जानैपर्थ्यो

भक्तपुर बहुमुखी क्याम्पसका अवकाश प्राप्त सह-प्राध्यापक हुन्- गम्भीर बहादुर हाडा। वि.सं. २००४ सालमा भक्तपुरमै जन्मिएका उनी अहिले पनि हट्टाकट्ट छन्। उनी बिहान सवेरै उठ्छन्, पत्रपत्रिका पढ्छन्, र आफ्ना सर्कलका साथीहरूसँग भेटेर गफ गर्छन्। आफ्नो करियरका विभिन्न चरणहरूमा उनले केही प्रतिष्ठित संस्थाहरूमा पनि काम गरे।
अर्थशास्त्रमा एमए गरेका उनले एसियाली अनुसन्धान केन्द्र, सोल्टी होटल हुँदै भक्तपुर बहुमुखी क्याम्पसमा सह-प्राध्यापकको पदसम्म पुगेर काम गरे। अनुसन्धान केन्द्रमा काम गर्दा उनको प्रमुख जिम्मेवारी लेखनको थियो। वि.सं. २०३६ सालमा उनले यो काम छोडेर घर नजिकैको भक्तपुर बहुमुखी क्याम्पसमा पढाउन सुरु गरे। सहायक प्राध्यापकबाट करियरको शुरूवात गरेका उनले २०६६ सालमा सह-प्राध्यापकको पदमा पुगेर अवकाश लिए। अवकाशपछि उनी अधिवक्ताको काममा पनि संलग्न भए।
भक्तपुरका स्थायी बासिन्दा रहेका हाडाले स्कुल जीवन र आफ्नो शिक्षण अनुभवहरूबाट धेरै सिकेका छन्। उनी राजधानीमै जन्मिएका भए पनि, आफ्नो स्कुल समयमा केटीहरू निकै कम संख्यामा विद्यालय जान्थे। उनले पढेको स्कुलमा करिब ५५ जना केटाहरू हुँदा केटीहरूको संख्या ५-६ मात्र हुने गर्थ्यो। जीवनमा भोगेका तीता-मीठा अनुभवहरूलाई सम्झँदै उनले हिजोको कुराकानीमा आफ्नो जीवनको यात्रा यसरी सुनाएः
बाल्यकाल र अध्ययन
मेरो जन्म भक्तपुर १३ वडा नम्बरमा २००३ सालमा भएको हो। अहिले १३ नम्बर वडा ३ नम्बरमा परिवर्तन भएको छ।
करिब सात वर्षको उमेरमा म वैष्णगोपाल स्कुलमा भर्ना भएँ। त्यहाँ २-३ वर्ष पढेपछि विद्यानिकेतन प्राइभेट स्कुलमा अध्ययन गर्ने मौका पाएँ। अध्ययनको क्रममा, बुवाले मलाई श्री पद्मा हाइस्कुलको ५ कक्षामा भर्ना गर्नुभयो र त्यहाँबाट मैले १८ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेँ।
त्यतिबेला भक्तपुरमा एक मात्र भक्तपुर कलेज थियो। विद्यार्थी संख्या थोरै भएकोले कलेजको संख्या पनि अहिले जति धेरै थिएन।
स्कुल पढ्ने बेला प्रायः केटाहरू नै देखिन्थे भने केटीहरूको संख्या निकै कम थियो। मेरो कक्षामा एसएलसी दिने बेलामा ५०-६० जना केटा हुँदा, केटी मात्र ६ जना थिइन्। अहिले जस्तै केटाकेटी सँगै पढ्ने चलन थिएन। स्कुल महंगो नभए पनि त्यतिबेला छोरीहरूलाई पढ्न पठाउँदैनथे। सायद सोच नै त्यस्तै थियो कि!
सरकारी स्कुलमा शुल्क अत्यन्त न्यून हुन्थ्यो। सरकारले पढ्न र पढाउनको लागि आह्वान नै गर्थ्यो तर अभिभावकहरू नै केटीहरूलाई पढाउन चाहँदैनथे। मैले अध्ययन गर्दा केटीहरूको संख्या केही बढी भए पनि एसएलसी दिने बेला भन्दा कम नै थियो।
पछि, मैले ब्याचलरका लागि त्रिचन्द्र कलेजमा भर्ना भएँ। भक्तपुरबाट काठमाडौं पढ्न आउँदा अहिलेको जस्तो बाक्ला गाडीहरू नभई रुटका गाडीहरू प्रयोग गर्नुपर्थ्यो। त्रिचन्द्र कलेजबाट २९ वर्षको उमेरमा बी.आई. उत्तीर्ण गरेपछि, मैले कीर्तिपुर विश्वविद्यालयमा अर्थशास्त्र विषय रोजेँ।
पढ्न र पढाउनका लागि किताब पाइँदैन थियो
मैले पढ्ने बेलामा नयाँ सेमिस्टरको नयाँ शिक्षा प्रणाली लागू भएको थियो। त्यही ब्याचको विद्यार्थी थिएँ म। अहिलेको जस्तो पढेर मात्रै हुँदैनथ्यो। त्यतिबेला कक्षा सकिएपछि घरमा बस्ने वा विदेश जाने चलन थिएन। राष्ट्रिय विकास सेवामार्फत गाउँमा दश महिना सेवा गर्न जानुपर्थ्यो। गाउँका स्कूलमा पढाएर आइसकेपछि फेरि पढ्नुपर्थ्यो।
त्यतिबेला पढ्नका लागि अहिलेजस्तो सहजता थिएन। न किताब पाइन्थ्यो, न टेलिभिजन, न मोबाइल। किताबको अभावमा विद्यार्थीहरूले नोट बनाएर पढ्नुपर्थ्यो। कसैले किताब भेट्यो भने त्यसको सहारामा नोट लेख्ने गरिन्थ्यो। पत्रपत्रिका पनि गोरखापत्र र द राइजिङ नेपाल जस्तै केही मात्रै उपलब्ध थिए।
अहिले त किताब, इन्टरनेट, र डिजिटल साधनको अभाव छैन। पढ्ने इच्छा भएको खण्डमा सबै सामग्री सजिलै पाइन्छ। तर, विडम्बना के हो भने अध्ययन गर्ने मानिसहरू कम छन्। त्यतिबेला पढ्न बाध्य थियौं। स्कूल नजाने वा नपढे फेल हुने निश्चित थियो। घरमा बसेर पनि किताब नभएसम्म पढ्न सकिँदैनथ्यो। नोट लेख्न पनि कलेज जानैपर्थ्यो। शायद यसैले होला, त्यति बेलाका विद्यार्थीहरू पढाइमा धेरै मेहनती र प्रतिभाशाली हुन्थे।
आजका विद्यार्थीले त्यस्तै लगनशीलता देखाउन सके नेपालले शिक्षाको क्षेत्रमा ठूलो प्रगति गर्न सक्थ्यो। अहिले त खोजेको जानकारी सेकेन्डमै इन्टरनेटबाट पाइन्छ, किताब पनि सहज उपलब्ध छन्। तर धेरै जनाले परीक्षाको तीन दिन अगाडि मात्र पढ्ने बानी बसेको छ। यदि आजका युवाहरू त्यतिबेलाको मेहनत र इमानदारी अनुसरण गर्ने हो भने, देश निश्चय नै उन्नत बन्न सक्थ्यो कि!
पञ्चायतमा झैँ झगडा कम
केटाकेटी नै भएर होला राजनीतिमा त्यति चाख दिइनँ मैले। घरको एक्लो छोरो। अर्की आमा पट्टी दाजु हुनुहुन्छ। मेरो आमाको म एक्लै छोरो भएर होला राजनीति र त्यति बेलाको व्यवस्था के कस्तो भन्ने प्रभाव ममा परेन। १७ सालपछि देशमा पञ्चायत व्यवस्था लागू भएको थियो। पञ्चायत व्यवस्था लागू भए पनि फाइदा बेफाइदा दुवै रहेको थियो।
त्यतिबेला पञ्चायतले जनताहरूलाई सीमित स्वतन्त्रता मात्र प्रदान गरेको थियो। धेरै कुरामा सरकारले नियन्त्रण गर्थ्यो र जनताहरू स्वतन्त्र हुन चाहन्थे। तर, सम्भव हुँदैनथ्यो। म राजनीतिमा प्रत्यक्ष सहभागी नभए पनि बाहिरबाट हेर्दा जनताहरूमा त्यो चाहना अवश्य देख्थेँ।
तत्कालीन समयमा पत्रपत्रिकाहरू निकै कम निस्किन्थे र पढ्ने-पढाउने व्यवस्था आजभन्दा भिन्न थियो। स्कुलका विद्यार्थीहरूलाई शिक्षकहरू प्रायः लेखिएको नोटबाट नै पढाउनुहुन्थ्यो।किताब भए पनि किताबबाट पढाउनु हुन्थेन। त्यतिबेला शिक्षा प्रणाली निकै अव्यवस्थित थियो।
अर्को सकारात्मक पक्ष के थियो भने, अहिलेको जस्तो पर्लय झगडा हुँदैनथ्यो। पार्टीको झगडा देखिँदैनथे। म कुनै पार्टीमा आबद्ध नभएको हुनाले आन्तरिक कुराहरू कस्ता हुन्थे भन्ने थाहा पाउन सकिनँ।
आज जनताले बोल्न, लेख्न र आफ्नो इच्छाअनुसार काम गर्न पाएका छन्, तर सुरक्षाको हिसाबले पहिले जस्तो छैन। अहिले असुरक्षा बढेको महसुस हुन्छ र सबै जनाले आफ्नो स्वार्थमा केन्द्रित भइसकेका छन्।
बिहेको भोजमा ३-४ दिनको मस्त चलन
त्यतिबेलाका बिहेहरू निकै रमाइलो हुन्थे। घरको आँगनमै बिहेको भोज आयोजना गर्ने चलन थियो। चोकमा भेला भएका पाहुनाहरूलाई सुकुल, गुन्द्री, पराल जस्ता साधनले सजाएर भोज खुवाइन्थ्यो।
मेरो विवाह ३१ वर्षको उमेरमा गर्दा पनि त्यस्तै रमाइलो भएको थियो। पाहुनाको संख्या हजारदेखि पन्ध्र सयसम्म हुन्थ्यो। अहिलेको पाटी प्यालेस जस्ता भव्य स्थलहरू थिएनन्। यो त पछिल्लो समय आएको चलन हो।
अर्कोतिर, त्यतिबेला बिहे गर्दा खान्दानी र जातपातलाई निकै ध्यान दिइन्थ्यो। कुन जातको हो, खानदान के हो, यस्ता कुराहरूलाई अत्यधिक महत्त्व दिइन्थ्यो। लभ म्यारिज भन्ने चलन भने पछिल्लो समय आएको हो। त्यतिबेला मागेरै नै बिहे गरिन्थ्यो।
२ सयबाट जागिरको सुरुवात
मैले २९ वर्षको उमेरमा प्राइभेट जागिरबाट आफ्नो यात्रा सुरु गरेँ। एसियाली अनुसन्धान केन्द्रबाट मेरो जागिर यात्रा आरम्भ भयो र सोल्टी होटलमा पनि काम गर्ने मौका पाएँ। २७-२८ वर्षको समयमा मेरो तलब २ सय रुपैयाँ थियो, जुन समयको २ सयको मूल्य धेरै महत्वपूर्ण मानिन्थ्यो। त्यतिबेला २०-२५ पैसामा जेरी र स्वारी आउँथ्यो र चियाको एक कप १० पैसा पर्थ्यो।
एसियाली अनुसन्धान केन्द्रमा जागिर गर्दा विभिन्न जिल्लामा लगिन्थ्यो। म भन्दा माथिल्लो तहका सरहरूले अनुसन्धानका क्रममा लेख्न निर्देशन दिन्थे। म उहाँहरूको भनाइ अनुसार नै लेख्ने काम गर्थेँ। अरू अतिरिक्त काम गर्नुपर्दैनथ्यो।
पहिलो पटक प्लेनमा नेपालगञ्ज पुग्दा सातो गएको थियो। अनुसन्धान सहायकको रूपमा काम गर्दाको कुरा हो यो।
अनुसन्धानबाट अनुभव सँगालेपछि, मैले जागिर छाडेर भक्तपुर क्याम्पसमा स्थायी रूपमा सहायक प्राध्यापकको रूपमा काम थालेँ। यो ३७ वर्ष हुँदाको कुरा हो। एमए पास गरेका शिक्षकलाई ७२५ रुपैयाँ तलब दिइन्थ्यो भने बीए पास गरेकालाई ५५० रुपैयाँ दिइन्थ्यो।
भक्तपुर क्याम्पसमा पढ्न आउने विद्यार्थीहरू प्रायः आसपासका हुन्थे। केही ‘पैसावाला’ विद्यार्थीहरू काठमाडौंबाट पठाउँथे। भक्तपुरमा भक्तपुर र काभ्रेबाट पढ्न आउने विद्यार्थीहरूको संख्या बढी हुन्थ्यो भने अरू ठाउँबाट त लगभग ५ प्रतिशत मात्र विद्यार्थी आउने गर्थे।
पढाउन शिक्षकहरूको लागि निकै चुनौतीपूर्ण हुन्थ्यो किनकि पुस्तकहरू उपलब्ध नहुँदा नोट बनाएर पढाउनु पर्ने समस्या भोगिन्थ्यो। पहिलेका विद्यार्थीहरू मेहनती हुन्थे तर पुस्तकहरूको अभाव थियो, भने अहिले पुस्तकहरू उपलब्ध भए पनि केही विद्यार्थीहरू अल्छी भएर पढ्न रुचाउँदैनन्। मैले लामो समयसम्म भक्तपुर क्याम्पसमा पढाएँ। सह-प्राध्यापकको पदसम्म पुगेपछि २०६६ सालमा अवकाश लिएँ।
जागिरको सुरुवातको कुरा गर्दा, त्यतिबेला भनसुन खासै चल्दैनथ्यो, पढे-लेखे र योग्यता पुगेको व्यक्तिले सजिलै जागिर पाउँथे। जागिर खाँदा कसैले पनि हटाउने या राख्ने डर हुन्थेन। ऐन-नियम कडा हुन्थ्यो, जबकि अहिले आफूलाई सहज हुने खालका कानुन बनाइरहेका देखिन्छन्, जुन राम्रो होइन।
फागुन ८, २०८१ बिहीबार १३:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।