२० वर्षपछि साइबेरियाबाट काठमाडौं आयो दुर्लभ बैकाल गैरी, नागदहमा रमाउँदै

२० वर्षपछि साइबेरियाबाट काठमाडौं आयो दुर्लभ बैकाल गैरी, नागदहमा रमाउँदै

ललितपुर : ललितपुरको धापाखेल स्थित नागदहमा एकाएक देखियो बैकाल गैरी। हाँस प्रजातिको दुर्लभ जलपंक्षी रहेको यसलाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) ले खतराको सूचीमा राखेको छ।

साइबेरियाको जलाधार क्षेत्रमा प्रजनन गर्ने यो सानो जलपंक्षी जाडोयाम सुरु भएसँगै कोरिया, जापान, चीन, भियतनाम, भारत हुँदै नेपालसम्म बसाइँ सर्ने गर्छ। मुख्यतः पूर्वी रुस र पूर्वी एसियामा पाइने यो पक्षी नागदहमा देखिएको हो।

माघ २७ (फेब्रुअरी ११, २०२५) मा गंगा सुनुवार, प्रताप गुरुङ र जय नाथ भण्डारी द्वारा धापाखेलस्थित नागदहमा देखेको बैकाल गैरीलाई यसअघि सन् २००४ मा टौदहमा देखिएको थियो। सन् २००५ मा हेम सागर बराल, विमल कुमार थापा र आरेंड भान राइजन्ले देखेका थिए। वैशाख २५, २०६२ (मे ८, २००५) मा अन्तिपटक देखिएको बैकाल गैरी करिब दुई दशकपछि पुनः काठमाडौं उपत्यकामा देखिएको हो।

जलपंक्षी गणनाका क्रममा चितवनको नारायणी नदी क्षेत्रमा सन् २०२४ र त्यसअघि पोखरामा देखिएको बैकाल गैरीको नेपालमा उपस्थिति निकै दुर्लभ मानिन्छ ।

पोथीको तुलनामा भाले बैकाल गैरी बढी आकर्षक हुन्छ ।  भालेको टाउकोमा हरियो, कालो र सुन्तला रङको आकर्षक संयोजन पाइन्छ, जसले अन्य जलपक्षीहरूभन्दा यसलाई फरक देखाउँछ। पोथीको रङ भने खैरो हुन्छ।

वासस्थान विनाश, सिकार, विषाक्तता र पर्यावरणीय प्रदूषणका कारण तीव्र रूपमा सङ्ख्या घट्दै गएको बैकाल गैरी चरा विज्ञहरूका अनुसार नेपालमा अल्पकालीन पाहुना मात्रै हो।

फागुन ७, २०८१ बुधबार २१:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।