विश्वविद्यालयले फकाए पनि फर्किएनन् नेपाली विद्यार्थी, एक सय २६ जना स्वदेश फर्किए

काठमाडौँ : विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई फकाउँदै बोलाए पनि भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत एक सय २६ विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्।
केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसँगै विश्वविद्यालयको प्रशासनको दुर्व्यवहारका कारण त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गर्दै आफ्नै देश फर्किएका हुन्।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार बुधवार एक सय तीन छात्र र २३ छात्रा नेपाल फर्किएका हुन्।
निमित्त प्रजिअ गौतमका अनुसार नेपाल फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको बताए।
विटेकमा अध्ययनरत नेपाली छात्रा प्रकृतिले विश्वविद्यालयको छात्रावासमा आत्महत्या गरेकी थिइन्। उनलाई सोही विश्वविद्यालयमा अध्ययनरत २१ वर्षका युवाले मानसिक यातना दिएपछि उनले आत्महत्या गरेको आरोप लागेको छ।
आरोपी पक्राउ परिसकेका छन्। विश्वविद्यालय प्रशासनले सुरक्षाको वातावरण रहेको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुलाई फर्किन आग्रह गरिरहेका छन्। नेपाली विद्यार्थीको यातायात खर्च बेहोर्न विश्वविद्यालय प्रशासन राजी भएको नेपाल पक्षले दाबी गरेको छ।
तर विश्वविद्यालय प्रशासनको व्यवहार र धम्कीका कारण नेपाली विद्यार्थीहरु आश्वासनमा विश्वस्त हुन सकेका छैनन्। घटना सार्वजनिक भएसँगै प्रारम्भमा विश्वविद्यालय प्रशासनले घटनाको विरोधमा उत्रिएका नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै होस्टल छाड्न धम्क्याएका थिए।
फागुन ७, २०८१ बुधबार २०:०४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।