स्वास्थ्य सचिवका लागि तीन चिकित्सक प्रतिस्पर्धामा, नियुक्तिमा प्रधानमन्त्री कि स्वास्थ्यमन्त्री हाबी ?

काठमाडौँ : फागुन १२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको कार्यकाल सकिने भएपछि अहिले तीन चिकित्सक स्वास्थ्य सचिव बन्ने प्रतिस्पर्धामा छन्।
१२ औँ तहमा बढुवा भएको पाँच वर्षीय पदावधिका आधारमा डा पोखरेलले अवकाश पाउन लागेका हुन्। अहिले १२ औँ तहमा डा. पोख्रेलसँगै डा. दीपेन्द्ररमण सिंहसहित पाँच जना छन्। पोखरेल र सिंहले एकै दिन अवकाश पाउनेछन्। त्यसपछि १२ औँ तहमा रहेका डा. सङ्गीता कौशल मिश्रा, डा टङ्कप्रसाद बाराकोटी र डा. विकास देवकोटा स्वास्थ्य सचिवको प्रतिस्पर्धामा देखिन्छन्।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले स्वास्थ्य सेवाको बाह्रौँ तहमा कार्यरत र एघारौँ तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ।
सामान्यतया १२ औँ तहका अतिरिक्त सचिव बहाल रहेको अवस्थामा उनीहरुमध्येहरु मध्येबाटै सचिव नियुक्त हुने गरेको देखिन्छ। १२ औँ तहका नभएको अवस्थामा ११ औँ तहकामध्येबाट पनि सचिव नियुक्त हुन सक्छन्।
तर १२ औँ तहका चिकित्सक हुँदाहुँदै पनि ११ औँ तहका चिकित्सकबाट स्वास्थ्य सचिव भएको रेकर्ड भने छ। २०६६ मा डा. प्रवीण मिश्र ११ औँ तहका चिकित्सक भए पनि सरकारले १२ औँ तहकालाई छाडेर उनलाई सचिव बनाएको थियो।
२०६६ कै इतिहास दोहोरिए अर्कै कुरा, नत्र डा बाराकोटी, डा देवकोटा र डा मिश्रामध्येबाट एक जना फागुन १२ पछि सचिवमा नियुक्त हुने देखिन्छ।
ऐनमा वरिष्ठता र कार्यसम्पादनका आधारमा नियुक्त गर्ने भन्ने उल्लेख छ। नेपाल स्वास्थ्य सेवा नियमावलीमा वरिष्ठताका तीन आधार उल्लेख छ। बहाल रहेको पदमा नियुक्त वा पदमा बढुवा निर्णय भएको मिति, यसरी नछुट्टिएमा एक तह मुनीको पदमा नियुक्ति वा बढुवाको निर्णय भएको मिति र यी दुवैले वरिष्ठता नछुट्टिए लोकसेवा आयोगले गर्ने सिफारिसको योग्यताक्रमलाई आधार मान्ने उल्लेख छ।
सेवा प्रवेश मितिका आधारमा डा. देवकोटा पहिला, त्यसपछि डा. बाराकोटी र पछि डा. मिश्रा सरकारी सेवामा प्रवेश गरेको देखिन्छ। १२ तहमा बढुवा भएको समयावधिलाई आधार मान्ने हो भने मिश्रा पहिले बढुवा भएकी हुन्। देवकोटा र बाराकोटी आठ महिनापछि सँगै बढुवा भएका हुन्।
ऐनले स्वास्थ्य सचिव पदमा नियुक्तिका लागि नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालीम उत्तीर्ण गरेको हुनुपर्ने’ थप योग्यता तोकेको छ। ऐनको दफा–१९ को उपदफा ‘१ख’ मा बढुवा सिफारिसको प्रावधान छ।
सो प्रावधान अनुसार लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्यको अध्यक्षतामा बन्ने सिफारिस समितिले नाम सिफारिस गर्ने र त्यसको आधारमा सरकारले सचिवको नियुक्ति गर्ने छ।
सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य, मुख्य सचिव, लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ सदस्य हुनेछन्। समितिको सदस्य सचिव सामान्य प्रशासन मन्त्रालयका सचिव हुन्छन्।
सचिवको योग्यता सरकारको ‘स्वविवेक’
हिजोका दिनमा भएका बढुवाको निर्णयमा प्राय सरकारको नेतृत्व जुन दलले गरेको हुन्छ त्यही दल निकट प्रतिस्पर्धी हुने देखिएकै हो। त्यसमा स्वास्थ्य मन्त्रीको पनि भूमिका हुन्छ नै।
सचिवमा योग्य हुन वरिष्ठता र कार्यसम्पादन दुबैलाई आधार मानिएको छ। आफू अनुकूल व्यक्तिलाई सचिव बनाउन वरिष्ठताले साथ दिए त्यही समात्नु वा वरिष्ठता नमिले कार्यसम्पादनमा खेल्ने गरेको देखिन्छ।
एकै दलको सरकार भएको अवस्थामा आफूले चाहेकालाई यसरी ‘चयन’ गर्न समस्या हुन्न। तर अहिले नेपाली काङ्ग्रेस-एमाले लगायतका दलको गठबन्धनको सरकार छ। प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली छन्। स्वास्थ्य मन्त्रालयमा कांग्रेसका सांसद प्रदीप पौडेल मन्त्री छन्। यसले एकै दल निकट भएकै आधारमा मात्र यो पटक सचिव नियुक्त हुन त्यति सहज देखिन्न।
सरकारी सेवामा प्रवेश गरेको आधारमा डा देवकोटा पहिलो, बाराकोटी दोस्रो र मिश्रा तेस्रो हुन्। १२ औँ तहमा बढुवाको आधारमा भने मिश्रा पहिलो र देवकोटा र बाराकोटी सँगै हुन्।
२०७९ मा १२ औँ तहमा एक पद रिक्त भयो। बढुवा सिफारिस समितिले डा. मिश्रा र डा. टङ्कप्रसाद बाराकोटीको नाम सिफारिस गर्यो। मन्त्रीपरिषद्ले दुईमध्ये डा. मिश्रालाई बढुवा गर्यो। उनी २०७९ असारमा ११ औँ बाट १२औँ तहमा बढुवा भइन्। डा. मिश्रा बढुवा भएको आठ महिनापछि १२ औँ तहमा दुई पद रिक्त भयो।
बढुवा समितिले डा. श्रीकृष्ण श्रेष्ठ, डा. देवकोटा र डा. बाराकोटीको नाम सिफारिस गर्यो। श्रेष्ठ छुटे। दुई जना बढुवा भए। २०७९ चैतमा मन्त्रिपरिषद्ले डा. बाराकोटी र डा. देवकोटालाई १२औँ तहमा बढुवा गर्यो।
कोही खरिदमा, कोही झापामा रमाउने
प्रतिस्पर्धामा रहेका तीन चिकित्सकको जागिरे अवधिमा गरेको काम हेर्दा कोही खरिदमा बढी रमाउने देखिए भने कोही चिकित्सकीय अभ्यासमा बढी रमाउने देखियो।
डा देवकोटा र डा मिश्रा दुवै स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदै स्वास्थ्य सेवा विभागको नेतृत्वमा समेत पुगे। दुवै खरिद मिलेमतोमा समेत जोडिए। यी दुवैको कार्यकालमा विभाग अन्तर्गत भएका अधिकांश खरिद प्रक्रिया विवादमा तानियो। अर्का प्रतिस्पर्धी बाराकोटी अधिकांश समय क्लिनिकल अभ्यासमा संलग्न रहेर झापा तिरै बसे। उनको गृह जिल्ला झापा नै हो।
डा. देवकोटा २०५३ मा आठौँ तहको मेडिकल अधिकृतका रूपमा सरकारी स्थायी जागिरे भएर सरकारी सेवामा प्रवेश गरेका हुन्। तत्कालीन सुर्खेत जिल्ला अस्पतालबाट सरकारी जागिर सुरु गरेका उनले जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल लगायतमा काम गर्दै आए। उनी नवौँ, दसौँ हुँदै २०७० मा ११औ तहमा बढुवा भए।
उनको कांग्रेस, एमाले र माओवादी तीनै दलका नेताहरूसँग निकटता देखिन्छ। प्रारम्भमा माओवादी नेता कृष्ण बहादुर निकट देखिने गरेका उनी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव हुँदा मुख्यमन्त्री थिए एमालेका शङ्कर पोखरेल। कांग्रेसका सांसद प्रदीप पौडेल मन्त्री भएपछि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक भए।
यो बिचमा डा. देवकोटा परिवार कल्याण महाशाखाको प्रमुख, स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुख अनि मन्त्रालयको समन्वय महाशाखा प्रमुख समेत भएको देखिन्छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख समेत भएका डा. देवकोटा कोरोनाकालमा केही समय स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा समेत रहे।
डा. देवकोटा २०७८ वैशाखमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव भएर दुई वर्ष बसे। उनी एमाले नेता पोखरेल मुख्यमन्त्री हुँदा सचिव भएका थिए। पौडेल स्वास्थ्यमन्त्री भएपछि गत असोजमा उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक भए।
हाल विभागको महानिर्देशकको रूपमा रहेका डा. देवकोटा अहिले विभाग अन्तर्गत मिलेमतोमा अगाडि बढेको खरिद प्रक्रियामा जोडिएका छन्। उनी विभाग प्रमुख भएपछि अगाडि बढेका अधिकांश खरिद प्रक्रिया विवादित छन्।
अर्की प्रतिस्पर्धी डा. मिश्रा २०७० मा खुला प्रतिस्पर्धाबाट ११औँ तहको सरकारी स्थायी चिकित्सकको रूपमा सरकारी जागिरमा प्रवेश गरेकी हुन्। उनी सिधै ११औँ तहमा प्रवेश गरेकाले सरकारी जागिरमा डा. बाराकोटी र डा. देवकोटाको तुलनामा उनको यात्रा भने छोटो देखिन्छ।
जागिरे भएपछि डा. मिश्रा विराटनगरको कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)को निर्देशक भइन्। उनी २०७८ मा मन्त्रालयको समन्वय महाशाखाको प्रमुख र मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहिन्।
२०७९ मा डा. मिश्रा १२औँ तह (प्रमुख विशेषज्ञ)मा बढुवा भइन्। कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री रहेको बेलामा उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक भइन्। उनी विभागको महानिर्देशक भएको बेलामा विभागले गरेका अधिकांश खरिद प्रक्रिया मिलेमतो भएको देखियो। खरिद प्रक्रिया विवादमा आए। डा मिश्रा पनि मिलेमतोमा भएको खरिदमा जोडिइन्।
डा. टङ्क बाराकोटी २०५६ मा सरकारी स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। झापाका डा. बाराकोटीले विराटनगरको तत्कालीन कोशी अञ्चल अस्पतालमा करिब एक वर्ष काम गरे।
पाँचथर, कान्ति बाल अस्पताल लगायतमा पनि काम गरेका डा. बाराकोटीले अधिकांश समय उपत्यका बाहिर झापामै बिताएको देखिन्छ। बाल रोग विशेषज्ञ रहेका उनी १२ औँ तहमा बढुवा हुनु अगाडिसम्म क्लिनिकल अभ्यासमा बढी सक्रिय देखिन्थे। उनी एमाले निकट चिकित्सक मानिन्छन्।
उनले अधिकांश समय तत्कालीन मेची अञ्चल अस्पतालमा रहेर काम गरे। हाल यो प्रादेशिक अस्पताल भद्रपुरमा रूपान्तरण भएको छ। उनले दसौँ तहको हुँदा तीन वर्ष अनि ११औँ तहको हुँदा तीन वर्ष गरी करिब ६ वर्ष झापाको यही अस्पतालमा प्रमुख भएर काम गरे। २०७९ चैतमा डा. देवकोटासँगै १२औँ तहको अतिरिक्त सचिवमा बढुवा भएपछि उनी स्वास्थ्य मन्त्रालय आए।
फागुन ७, २०८१ बुधबार १९:१४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।