‘लाज शरणम्’ मुद्दामा निर्देशक समाजले भन्यो– फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा अदालतले चलचित्रमाथि अंकुश लगायो

‘लाज शरणम्’ मुद्दामा निर्देशक समाजले भन्यो– फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा अदालतले चलचित्रमाथि अंकुश लगायो

काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजले फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप लगाएको छ।

बुधबार एक विज्ञप्ति निकालेर समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र ‘लाज शरणम्’को प्रचार सामग्री रोक्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानकको रुपमा बनाइने चलचित्रले कुनै व्यक्ति, समुदाय, संस्कार, संस्कृतिलाई आघात पुर्याएको बारेमा सेन्सर बोर्डले जाँच गर्नुपर्नेमा फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा चलचित्रमाथि अंकुश लगाउने आदेश जारी हुँदा करोडौं लगानी जोखिममा परेको उनको पराजुलीको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘सेन्सर बोर्डमा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदनको मनसायअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ।’

समाजले ‘लाज शरणम्’ र यस्तै प्रकृतिका कानूनी लडाइँमा रहेका अन्य चलचित्रहरुको साथमा रहेको ऐकवद्धता जारी गर्दै चलचित्रसँग सम्बन्धित संघसंस्थालाई गोलबद्ध हुन आग्रह गरेको छ।
यसका अलावा अध्यक्ष पराजुलीले भविष्यमा आउने सम्भावित चुनौतिहरुलाई मध्यनजर गरी परिपक्वताका साथ काम गर्न समेत आग्रह गरेको छ।

फागुन ७, २०८१ बुधबार १३:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।