नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार केआइआइटीका अधिकारी माफी मागेको माग्यै, चार जना कारबाहीमा

नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार केआइआइटीका अधिकारी माफी मागेको माग्यै, चार जना कारबाहीमा

काठमाडौँ : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली  छात्रा प्रकृति लम्सालको आत्महत्या घटनापछि नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार गरेका विश्वविद्यालयका पदाधिकारीहरू एक पछि अर्को गर्दै माफी मागिरहेका छन्।

घटनाको विरोधमा नेपाली विद्यार्थी आन्दोलित भएसँगै उनीहरूमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएसँगै विश्वविद्यालय प्रशासन आलोचनाको केन्द्रमा पर्यो।

नेपालमा विरोध त भयो नै, उता भारतमा समेत घटनाको तीव्र आलोचना भएपछि अहिले विश्वविद्यालयले जारी गरेको सूचना हटाउँदै नेपाली विद्यार्थीलाई होस्टेल फर्कन, नियमित कक्षामा सहभागी हुन अनुरोध गरिरहेको छ।

विश्वविद्यालयले दुई कर्मचारीलाई निष्कासन गरेको छ भने दुई कर्मचारीलाई निलम्बन गरेको छ। दुई कर्मचारीले आफ्नो व्यवहारका लागि माफी माग्दै सामाजिक सञ्जालमा भिडियो हालेका छन्। विश्वविद्यालयका भाइस चान्सलरले माफी माग्दै विज्ञप्ति निकालेका छन्।

घटनाको जताततै विरोध हुन थालेपछि प्रहरीले प्रकृतिलाई ह्यारेसमेन्ट र इमोसनल ब्याल्कमेलिङमा संलग्न देखिएका युवकलाई पक्राउ गरेको छ।

विश्वविद्यालयले सार्वजनिक गरेको विवरणमा दुई सुरक्षा गार्डलाई निष्कासन गरिएको छ। विश्वबिध्यालयका सिनियर होस्टेल अफिसर्स र प्रशासनको सिनियर अफिसर्स निलम्बित भएका छन्।

विश्वविद्यालयका दुई कर्मचारी जयन्ती नाथ र मञ्जूषा पाण्डेले आफ्नो व्यवहारका लागि माफी माग्दै भिडियो सार्वजनिक गरेका छन्।

विश्वविद्यालयका भाइस चान्सलर शरणजित सिंहले विज्ञप्ति निकालेर माफी मागेका छन्। विज्ञप्तिमा उनले 'विश्वविद्यालयमा  २०२५ फेब्रुअरी १६ को साँझ घटेको अप्रिय घटना र आन्दोलनरत विद्यार्थीहरूसँग हामीमध्ये केहीले गरेको व्यवहारप्रति' दुःखी व्यक्त गरेका छन्।

'हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण छन्। यद्यपि ती टिप्पणीहरू तत्कालीन आवेशमा व्यक्तिगत हैसियतमा गरिएका हुन्, हामी उनीहरूको कार्यको समर्थन गर्दैनौँ' विज्ञप्तिमा भनिएको छ।

उनीहरूलाई सेवाबाट हटाएको उनीहरूले आफ्नो व्यवहारका लागि माफी मागेको भन्दै घटेका सबै घटनाहरूका लागि विश्वविद्यालयको तर्फबाट  माफी मागिएको छ।

फागुन ७, २०८१ बुधबार ००:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।