प्रकृतिका बुबा सुनिल भन्छन् ‘वन्ली जस्टिस्, नथिङ इल्स’

काठमाडौँ : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा बि टेकमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालका बुबा उमेशले ह्यारेसमेन्ट र इमोसनल ब्याल्कमेलिङका कारण आफ्नो छोरीले आत्महत्या गरेको बताएका छन्।
अहिले भारत पुगेका उनले भारतीय समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै एक जना पक्राउ परेको तर अनुसन्धानबारे प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी नदिएको भन्दै अहिले विश्वविद्यालयको प्रशासन र प्रहरीले सहयोग गरिरहेको बताएका छन्।
उनका अनुसार अनुसन्धानका लागि प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र डायरी फरेन्सिक परीक्षणका लागि लगेको बताए। प्रहरीले जसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ अहिलेसम्म प्राप्त विवरणले घटना उसैको कारण घटेको देखिएको उनले बताएका छन्।
प्रकृतिले आत्महत्या गरेको र प्रहरी आउनु अगाडि नै विश्वविद्यालयका कर्मचारीले शव निकाल्ने काम गरेको भन्दै विश्वविद्यालयमा अध्ययनरत नेपाली विध्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। नेपाली विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रशासनले उनीहरूलाई छात्रावासबाट निकाल्ने, विश्वविद्यालयबाट निकाल्ने र विश्वविद्यालयको कर्मचारीले कुटपिटसम्म गरेका थिए।
लम्सालले विश्वविद्यालय रहेका नेपाली विध्यार्थीहरुलाई निकाल्नु ठिक नभएको भन्दै घटनाको विरोध गरे।
प्रकृतिको भाइले गरेका थिए फोन
उमेशका अनुसार प्रकृतिको भाइ समेत सोही विश्वविद्यालयमा पढ्दै आएका छन्। घटना भएपछि परिवारलाई उनैले जानकारी गराएका थिए। उनले उमेशलाई फोन गरेर तत्काल उडिसा आउन भनेको तर घटनाबारे नबताएको उनले खुलाएका छन्।
‘साढे पाँच बजे फोन आएपछि सिधै आएको हुँ। पहिला केही पनि भनेको थिएन। यहाँ आएपछि थाहा पाएँ। एक जना पक्राउ परेको छ। अहिलेसम्म उसैको कारणले आत्महत्या गरेको देखिन्छ’ उनले भनेका छन्।
उनले आफ्नो छोरीको शव नेपालमै लगेर अन्तिम संस्कार गर्ने बताएका छन्। एक देशबाट अर्को देशमा शव लैजानुपर्ने र त्यसका लागि कागजपत्र मिलाउनुपर्ने भन्दै उनले सबै प्रक्रिया पुरा भएपछि शव नेपाल लैजाने बताएका छन्।
प्रकृतिलाई उनी अध्ययनरत विश्वविद्यालयमा अध्ययनरत एक भारतीय युवाले मानसिक तनाव दिने गरेको र त्यसबारे विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि कुनै कदम नचालेको सार्वजनिक भएपछि अहिले भारतदेखि नेपालसम्म यो घटनाको विरोध भइरहेको छ।
प्रारम्भमा यो घटनाप्रति विश्वविद्यालय प्रशासन पनि अति असंवेनशिल देखिएको थियो। उसले पटक पटक सूचना निकाल्दै सो विश्वविद्यालयमा पढिरहेका नेपाली विध्यार्थीहरुमाथि दुर्व्यवहार गरेका थिए। विश्वविद्यालय प्रशासनको व्यवहारको नेपालसँगै भारतमा समेत तीव्र विरोध भएपछि उनीहरूले सूचना सच्याउँदै माफी मागेका थिए।
तेस्रो सेमेस्टरका विद्यार्थी हिरासतमा
प्रकृतिलाई ह्यारेसमेन्ट गरेको आरोपमा प्रहरीले सोही विश्वविद्यालयमा बि टेक तेस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षका अद्भिक श्रीवास्तवलाई पक्राउ गरिसकेको छ। श्रीवास्तवले ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेकोबारे प्रकृतिले पहिला विश्वविद्यालय प्रशासनमा जानकारी गराएकी थिइन्।
फागुन ६, २०८१ मंगलबार २१:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।