'रंगी' : दर्शक हैन निर्माता-निर्देशक रुवाउने फिल्म

'रंगी' : दर्शक हैन निर्माता-निर्देशक रुवाउने फिल्म

सन्तान हुर्काउन अभिभावकले गरेको संघर्ष। फिल्म पूर्णबहादुरको सारंगीको कथा नौलो हैन। समाजमा देखिँदै आएको कथा नै त थियो, तर पटकथामा गरिएको मिहेनत, कलाकारहरूको अभिनय र चोटिलो संवादले दर्शकको मन हुँडल्यो। यो फिल्म नहेरे त समाजमै नपरिने जस्तो माहौल बन्यो। प्रतिफल निर्माण टिमले पायो।

पूर्णबहादुरको सारंगी बाबु-छोराको सम्बन्धमा केन्द्रित थियो। अहिले बाबु र छोरीको सम्बन्धमा केन्द्रित कथामा बनेको फिल्म रंगी हलमा चलिरहेको छ। फिल्मको कथाको संरचना र राखिएका तत्त्वहरूको उद्देश्य बाबु-छोरीको कथामार्फत दर्शकको मन हुँडल्ने नै देखिन्छ। दर्शकको मन छोएर रुवाउने नै देखिन्छ। रोए पनि तर दर्शक हैन निर्माता र निर्देशक। निर्माता अनि निर्देशक रुनुको कारण देखियो हलले शो कम दिएर 'अन्याय' गर्नु। 

निर्माण टिमका सदस्य भक्कानिएका दृश्यहरू सामाजिक सञ्जालभर छरिएका छन्। फिल्मले जति शो पाएको छ त्यहाँ पुगेका दर्शक भक्कानिएका भए दृश्य बदलिसक्थ्यो। तर दर्शक भक्कानिएनन्। अनि निर्माता-निर्देशक भक्कानिने नै भए।

जन्म भए लगत्तै  आमा गुमाएको सन्तान अनि श्रीमती गुमाउँदा विरहमा डुबेका श्रीमानको मिश्रणको कथामा बनेको छ फिल्म रंगी। यसमा निर्देशकले छोरीलाई हुर्काउन बुबाले गरेको सङ्घर्षको कथालाई मिसाएका छन्।  बुबा र छोरीबीचको भावनात्मक यात्रालाई अगाडि बढाउँदै २ घण्टा १८ मिनेटको फिल्म बनेको छ।

तर निर्माण टिमले पटकथालाई कस्न नसक्दा न आमा गुमाएको सन्तानको विरही दृष्यले दर्शकको मन छुन सक्छ न त श्रीमतीको विरहमा परेका श्रीमानको अवस्थाले नै मन कटक्क खान्छ। निर्माताले कथाको चिउरा भिजाउन खोजे तर पानी छम्किएर। पानी छम्किएर कथाको 'चिउरा' भिजेन, ओसिलो मात्र भयो।

अब कथासारतिर लागौँ। फिल्म पवन क्षेत्री (सलोन बस्नेत) को जीवनमा आएको परिवर्तनबाट सुरु हुन्छ। छोरीलाई जन्म दिएर श्रीमतीको मृत्यु भएपछि उनी विचलित हुन्छन्। छोरी काव्या क्षेत्री (आयुषी ढकाल) को स्याहारमा भन्दा उनी पत्नी वियोगमै रन्थनिन्छन्। आमाहीन छोरी बेवारिसे जस्तै हुन्छिन्। 

पवनको दैनिकी वियोगमा रल्लिने, खोला किनार डुल्ने अनि साँझ घर फर्कनेमै सीमित देखाइएको छ। छ वर्षकी छोरीबारे उनलाई कुनै वास्तै हुन्न। अचानक पवन बिरामी भएर घरमा ढल्छन्। त्यसपछि छोरी काव्याले गाउँलेलाई बोलाएर अस्पताल लैजान्छिन्। बाबु-छोरीको सम्बन्ध सुधारमा यो दृश्यलाई टर्निङ पोइन्टका रूपमा देखाउन खोजेका छन् निर्देशकले।

यो घटनापछि पवनको मन बदलिन्छ। उनी छोरीको भविष्यप्रति केन्द्रित हुन्छन्। छोरीलाई पढाउन र हुर्काउन कामको खोजीमा लाग्छन् र बल्ल बल्ल काम पाउँछन्। त्यहीबीचमा उनको भेट हुन्छ दीपा (नम्रता श्रेष्ठ) सँग। त्यसपछि पवन र दीपाबीच सम्बन्ध कसरी अगाडि बढ्छ। छोरीको लालनपालनमा पवन सफल बाबु बन्न सक्छन्? यसबारे थाहा पाउन दर्शक हलसम्म पुग्नै पर्छ।

फिल्मले आमा नहुँदा बालबालिकाले कति पीडा भोग्छन् भन्ने अनुभव गराउने प्रयास गरेको छ। एक हदसम्म यो कोणको कथामा निर्देशक निर्देशक सुरेश न्यौपाने सफल पनि देखिन्छन्। छोरीहरूले बुबाप्रति दर्शाउँने मायाको भाव अनुभव गर्दा दर्शकको आँखा हल्का रसाउन सक्छ।

फिल्ममा ‘यहाँ सित्तैमा कमाउने भनेको शत्रु मात्र हो। आफन्त कमाउनका लागि त पैसा कमाउनु पर्छ’ जस्ता केही पञ्चलाइनहरु समेत छन् जसले दर्शकको मनसम्म कनेक्ट हुने प्रयास गरेको छ। बालबालिकाप्रति विद्यालयका शिक्षक,शिक्षिकाले गर्ने व्यवहार र त्यसले पर्ने असरको पक्षलाई पनि फिल्मले छुने प्रयास गरेको छ। बाल मनोविज्ञानमा विध्यालयको हेलचेक्राई देखिन्छ फिल्ममा।

फिल्मको कथा समसामयिक भए पनि पटकथा र संवाद एकदमै कमजोर छ फिल्मको। फितलो संवाद, उस्तै कमजोर ब्याकग्राउन्ड म्युजिकले दर्शक जति फिल्मका दृश्यमा कनेक्ट हुनुपर्ने त्यो हदमा कनेक्ट हुनै सक्दैनन्।

छोरीले लेखेको चिठी बुबा सलोनले पढ्दा दर्शकको मन हुँडलिनु पर्ने हो नि तर हुँडलिँदैन। यस्ता धेरै दृश्यहरू छन् जहाँ दर्शकले जति प्रयास गरे पनि आँसु रोक्न असफल हुनुपर्ने हो, तर फितलो संवादले त्यो दृश्य दर्शकको मनसम्मै पुग्नै सक्दैन।

भोकाएको बच्चाले खाना खोज्दा रित्तो भाडा फेला पार्ने दृश्य कथानकसँगै बगेर आएको हकमा निकै प्रभावकारी हुनसक्छ। तर फिल्ममा यस्ता दृश्य सामान्य रूपमा आएका छन्। पर्दामा बगिरहेका विरहका दृश्य दर्शकको मनमा प्रवेश नगराई त्यो पीडा अनुभव गराउन सकिन्न। यहीँनिर निर्देशक नमज्जाले चुकेको अनुभव गराउँछ फिल्मले।

फिल्मको कथ्यशैली र दृष्यांकनका आधारमा २ घण्टा १८ मिनेट फिल्मका लागि निकै लामो समय हो। कुन दृश्य राख्ने, कुन हटाउने भन्नेमा निर्देशक र फिल्म सम्पादकै अलमलिएको प्रस्टै देखिन्छ। अब निर्देशक र दृश्य सम्पादक अलमलिएपछि दर्शक अलमलिनु सामान्य नै हो।

बाबु घर र काम गर्ने ठाउँमा गएका दृश्यहरू नै यति लामो र यति पटक दोहोरिएका छन् कि फिल्म बाबु र छोरीको सम्बन्धमा केन्द्रित भएको हो या बठ्याइँका साथ फुडमाण्डुको प्रचारमा फिल्मरूपी यति लामो विज्ञापन बनाएको हो? शङ्का जन्माउँछ। सौरभ लामा र ईश्वर सिंकेमानाले खिचेको फिल्मको दृश्यहरूमा हेलचेक्र्याइँ प्रस्टै देखिन्छ।

फिल्मको कथाअनुसार कलाकारहरू भने ठिकै छन्। सलोन बस्नेत, दिलीप रायमाझी र बाल कलाकार आयुषी भण्डारीको अभिनयमा खोट लगाउने ठाउँ छैन। यसै फिल्मबाट अभिनेत्रीमा डेब्यु गरेकी नम्रता श्रेष्ठले अभिनय यात्रामा बलियो सम्भावना देखाएकी छिन्।

अर्की अभिनेत्री मलिका महत गीतमा सीमित छिन्। उनी हुनु र नहुनुको अर्थ देखिन्न फिल्ममा। किशोर भण्डारीले कविको भूमिकाले दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेका छन्। फिल्मका गीतहरू कर्णप्रिय छन्। दर्शकलाई त्यस्तो झर्को लाग्ने खालका सुनिँएनन्।

तर फिल्मको मूल कथा नै बुबा र छोरीको सम्बन्ध हो। यसलाई नै दरिलो बनाउन सकेनन् निर्देशकले। संवेदनशील विषयलाई कमजोर पटकथा र लामो अवधिले थप फितलो बनाएको छ। पटकथा र संवाद अति फितलो छ। ‘यतिको भए चलिहाल्छ नि’ भन्ने सोचले डेब्यु निर्देशकले आफूलाई पनि डुबाए, फिल्मलाई पनि डुबाए।

'रंगी'ले दर्शकलाई जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउन त खोज्यो तर ‘यतिको फिल्म बने चलिहाल्छ नि’ भनेर हेलचेक्राईँ गर्नु हुन्न है भनेर निर्देशक र निर्मातालाई नै उल्टो पाठ सिकायो। यो फिल्मले विषयवस्तु राम्रो हुँदैमा फिल्म राम्रो बन्न सक्दैन, प्रस्तुति पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो भन्ने देखाउँछ।

फागुन ६, २०८१ मंगलबार १८:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।