नेप्से ११.९१ अंकले बढ्यो, 'अन्य' समूह सर्वाधिक लाभान्वित

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज मङ्गलवार ११.९१ अंकले बढेर २७३९ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि वृद्धि भई १० अर्ब ४३ करोड पुगेको छ, जुन सोमबार १० अर्ब ४ करोड थियो।
मङ्गलवारको कारोबारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को घटेको छ र ८ कम्पनीको मूल्य अपरिवर्तित रहेको छ।
'अन्य' समूह सबैभन्दा बढी ३.६७ प्रतिशतले बढेको छ। यस समूहमा सूचीकृत हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखिएको हो। अन्य समूहका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य पनि बढेको छ।
बैङ्किङ ०.२२, लगानी १.२४, जीवन बिमा १.७४, निर्जीवन बिमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशतले बढेका छन्। विकास बैंक समूह भने सबैभन्दा बढी १.७४ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६ र माइक्रोफाइनान्स ०.७९ प्रतिशतले घटेका छन्।
मङ्गलवारको कारोबारमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स गरी चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य पनि ७.३ प्रतिशतले बढेको छ।
यसैबीच, सप्तकोसी विकास बैङ्कको शेयर मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, भूगोल इनर्जीको ८.९५, एक्सल डेभलपमेन्टको ५.९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स अग्रस्थानमा रहेका छन्।
फागुन ६, २०८१ मंगलबार १५:३९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।