नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति केआईआईटीले माफी माग्यो, दुई सुरक्षा गार्ड र तीन कर्मचारी निलम्बित

नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति केआईआईटीले माफी माग्यो, दुई सुरक्षा गार्ड र तीन कर्मचारी निलम्बित

एजेन्सी : भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ।

विश्वविद्यालयले विज्ञप्ति सार्वजनिक गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई समेत कारबाही गरेको जनाएको छ।

मानसिक र शारीरिक दुर्व्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निष्कासन गरेको थियो।

विश्वविद्यालयले छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै नेपाली विद्यार्थीहरूलाई रेलवे स्टेशन लगेर छोडेको थियो।

विश्वविद्यालयले आज जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गरेको र दुई जना छात्रवासका कर्मचारी र एक जना प्रशासनका कर्मचारीलाई निलम्बन गरेको जनाएको छ।

विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित नेपाली विद्यार्थीलाई फर्किन आह्वान पनि गरेको छ। विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

उडिसाको केआईआईटी विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्।

फागुन ६, २०८१ मंगलबार १२:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।