सोविता र सुमनाले बोल्न नदिइएको विषयमा बोल्यो सभामुखको सचिवालय

सोविता र सुमनाले बोल्न नदिइएको विषयमा बोल्यो सभामुखको सचिवालय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले बोल्न नपाएको विषयमा सभामुख देवराज घिमिरेको सचिवालयले प्रष्टिकरण दिएको छ।

गत माघ २८ गतेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न नदिएको भन्दै सोविता र फागुन ५ गतेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न नदिएको भन्दै सुमनाले आरोप लगाएपछि सभामुखको सचिवालयले प्रष्टिकरण दिएको हो।

प्रतिनिधि सभाको नियमावलीअनुसार अघि बढ्दा सोविता र सुमनाले बाहिर निस्किएर प्रचारबाजी गरेको सभामुखको सचिवालयको आरोप छ।

गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग गरेकोमा सभामुख घिमिरेले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने सचिवालयको तर्क छ।

त्यसैगरी फागुन ५ गते सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतर्फ लागेपछि सांसद सुमना श्रेष्ठ आएको सचिवालयको दाबी छ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो। उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ। मैले तपाईंको विषय बुझ्न समय भएन या त भोलि राख्नुहोला भनेर सभामुख निस्कनुभयो।’

उक्त संवाद हुँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै भएको र दलीय अनुरोध नआएको सचिवालयको भनाइ छ।

आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिने अभ्यास भएको भन्दै सचिवालयले संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर सिर्जना गर्न खोजिएको तर्क गरेको छ।

सचिवालयले भनेको छ, ‘सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधाघण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन्। तीमध्ये सबैले समय पाउँदैनन्। समय पाउने ८ देखि १० जनाले हो। आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेकोभन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ।’

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा दलीय आधारमा रास्वपाका अशोक चौधरीले बोल्दा एमालेका तर्फबाट सांसदद्वय सूर्यबहादुर थापा र सम्झना थपलियाले बोलेका थिए।

त्यसपश्चात बोल्न खोजेकी सुमनालाई सभामुख घिमिरेले रोकेका थिए। बोल्न दिएर सभामुखले पेलेरै बैठकलाई शून्य समयतिर बैठकलाई लगेका थिए। त्यसपछि सांसद श्रेष्ठले बैठक बहिष्कार गरेकी थिइन्।

फागुन ६, २०८१ मंगलबार ११:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।