सुर्खेतकी शान्तिलाई सुत्केरी स्याहार्न भ्याइ-नभ्याइ : फोनमै गर्छिन् डिल, तीन महिना अघिदेखि ‘बुक्ड’

सुर्खेत : १८ वर्षदेखि सुर्खेतमा सुत्केरीको स्याहार गर्ने काम गर्छिन्, वीरेन्द्रनगर नगरपालिका-९ धरमपुरकी शान्ति चौधरी। उमेरले ४३ पुगेकी उनको काम बाह्रै महिना सुत्केरी स्याहार्नु हो।
१९ वर्षअघि सासुबाट सुत्केरी स्याहार्न सिकेकी उनले अहिले त्यसैलाई आफ्नो आम्दानीको स्रोत बनाएकी छन्। उनकी सासु पहिला सुत्केरी स्याहार्ने काम गर्थिन्, सासुले सँगै काम सिकाउन थालेपछि उनले एक वर्षमै पोख्त भइन्।
त्यति बेला उनको दैनिक ज्याला दुई सय ५० रुपैयाँ थियो। महिनामा सात हजार पाँच सय हुन्थ्यो। अहिले उनै शान्तिको दैनिक ज्याला आठ सय रुपैयाँ पुगेको छ। मासिक २४ हजार रुपैया कमाउँछिन् उनी।
सुत्केरी स्याहारमा सुत्केरी आमा र बच्चालाई सेक्ने, कपडा धुने र खाना पकाउने लगायतका काम पर्छन्। एक महिनादेखि साढे तीन महिनासम्म उनले एउटा सुत्केरीको स्याहारमा समय बिताउँछिन्। बिहान आठ बजेदेखि बेलुका चार बजेसम्म सुत्केरी आमा र बच्चाको स्याहार सुसार गर्छिन्।
पहिले-पहिले कामका लागि घरमा बोलाउन आउने गरेकोमा आजकल फोनमै ‘डिल’ गर्छिन् उनी। कतिपय अवस्थामा एकैपटक दुई ठाउँबाट अफर आउँदा काम गर्नै भ्याउँदिनन्। बच्चा जन्मनुभन्दा एक/दुई महिना अगाडिदेखि नै उनलाई ‘बुक्ड’ गर्छन्।
सुत्केरी स्याहारको काम गर्दा दिक्क नलाग्ने उनी बताउँछिन्। पहिलो सन्तान हुँदा स्याहार गरेका घरमा उनलाई दोस्रो सन्तान हुँदा पनि बोलाउने गर्दा रहेछन्।
‘१८ वर्षदेखि अहिलेसम्म कहिल्यै पनि खाली बसेको छैन। पहिला कम ज्याला थियो। अहिले ज्याला ठिक छ। कसैले त कपडा र अन्य दक्षिणा दिएर समेत बिदाइ गर्छन्,’ उनले भनिन्, ‘पहिलो सन्तान हुँदा काम गरेको घरमा दोस्रो सन्तान हुँदा पनि बोलाउँछन्।’
शान्तिले स्याहार सुसार गरेको बच्चाहरू अहिले १७/१८ वर्षका भइसके। बाटोमा उनीहरू हिँडेको, पढेको देख्दा आनन्द लाग्ने उनी सुनाउँछिन्।
‘उनीहरूका बुवाआमाले तिमीलाई स्याहार गर्ने उहाँ नै हो भनेपछि बच्चाहरू कतै बाटोमा देख्दा समेत नमस्कार मम्मी भनेर सम्मान गर्छन्। उनीहरू देख्दा एकदमै मन खुसी हुन्छ’, उनी सुनाउँछिन्।
शान्तिको घरमा श्रीमान् र छोरासहित तीन जनाको परिवार छ। २४ वर्षीय छोरालाई १२ कक्षा पढाएर घरायसी खर्च समेत शान्तिले नै धान्दै आएकी छन्। श्रीमान र छोरा घरमा कृषि कर्म गर्छन्। उनी सुत्केरी र बच्चाको स्याहार गर्छिन्। यसैबाट कमाएर बचेको केही रुपैयाँ बचत समेत गरेकी छन्।
शान्तिको स्नेह, माया, र अथक परिश्रमले १८ वर्षसम्म सयौं आमा र शिशुहरूले सेवा पाएका छन्। आफ्नो शक्ति भएसम्म यही कामलाई निरन्तरता दिन चाहन्छिन् उनी।
अहिले सहज भए पनि सुरुका दिनहरू शान्तिका लागि पक्कै सजिला थिएनन्। स्वास्थ्य सम्बन्धी औपचारिक शिक्षा नपाए पनि स्वस्थ बच्चा र अस्वस्थ बच्चा उनले जन्मन बित्तिकै थाहा पाउँछिन्।
‘बच्चा स्वस्थ र अस्वस्थ भन्ने कुरा जन्मने बित्तिकै थाहा भइहाल्छ। स्वस्थ बच्चाको व्यवहार र चाल नै फरक हुन्छ,’ उनी सुनाउँछिन्, ‘हुन त म डाक्टर होइन, तर पनि बच्चा र आमाको स्याहारमै १८ वर्ष बिताएको हुँदा धेरै कुराहरूको ज्ञान छ। के खाँदा ठिक, के नखाँदा ठिक। आमा र बच्चाका लागि कसरी सुरक्षित राख्ने भन्ने कुराहरूमा परिपक्व छु।’
समाजमा केहीले उनको कामप्रति फरक दृष्टिकोण राखे पनि अधिकांशले उनलाई सम्मानका साथ व्यवहार गर्छन्।
‘केहीले मेरो कामलाई नकरात्मक दृष्टिले हेर्छन्। तर मलाई र मेरो परिवारलाई यो काम नकारात्मक लाग्दैन। विदेशमा गएर जस्तो काम गर्न पनि लाज नमान्नेहरूले दिने गफ हो यो’, उनले गतिलै झापड दिइन्।
शान्तिकै अगुवाइमा उनीजस्तै ६ जना चौधरी समुदायका महिलाहरू सुत्केरी र बच्चाको स्याहार गर्ने काम गर्छन्। परिवारबाट पीडित र आर्थिक अवस्था कमजोर भएका अन्य महिलाहरूले समेत सुत्केरी स्याहारको काम गरेर आफ्नो अवस्थालाई केही सहज बनाएका छन्।
फागुन ६, २०८१ मंगलबार १०:१२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।