चर्को दबाबपछि केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई होस्टेल फर्कन आह्वान

चर्को दबाबपछि केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई होस्टेल फर्कन आह्वान

काठमाडौं : चर्को दबाबपछि भारतस्थित नेपाली दूतावासले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणपछि निकालेको नेपाली विद्यार्थीलाई होस्टेल फर्कन आह्वान गरेको छ।

उक्त घटनाको भारत र नेपालमा तीव्र आलोचना भएपछि सोमबार साँझ एक विज्ञप्ति निकालेर विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह गरेको हो।

त्यसअघि नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनाक्रमलाई लिएर सम्बन्धित विश्वविद्यालयका रजिष्ट्रारदेखि केन्द्र सरकार तथा उडिसा राज्यको मुख्यमन्त्री कार्यालय र अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको थियो।

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गर्दै पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छाडिएको थियो।

नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको सामाजिक सञ्जालमा पाइएका भिडियोहरूमा स्पष्ट देखिन्छ।

नेपाली विद्यार्थी लम्सालले आत्महत्या गरेको भन्दै त्यहाँको प्रहरी प्रशासनले आत्महत्या दुरुत्साहनका लागि उनका पूर्वप्रेमी भारतीय नागरिक आद्भिकलाई पनि पक्राउ गरेको छ। आद्भिकले प्रकृतिलाई मानसिक यातना दिएको खबर छ।

आद्भिक र प्रकृतिबीच भएको दाबी गरिएको एक अडियो सन्देशमा आद्भिकले प्रकृतिलाई भद्दा र छाडा गाली गरेको सुनिन्छ।

लम्साल केआईआईटीमा बिटेक तेस्रो वर्षमा अध्यनरत थिइन्।

फागुन ६, २०८१ मंगलबार ०८:०५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।