'दुखी आत्मा' : बलियो सामाजिक विषयमा हास्य प्रहसन घोलघाल गर्दा बरालिएको पटकथा

साहित्यिक बजारको विसङ्गति र यौन दुर्बलताको समस्यालाई एकैसाथ समेटेर निर्देशक दीपेन्द्र लामाले दर्शकमाझ ल्याएको नयाँ फिल्म 'दुखी आत्मा' ले नेपाली चलचित्र क्षेत्रमा फरक स्वाद थप्ने प्रयास गरेको छ। खासखुसमा सीमित हुने गरेको यौन समस्यालाई पर्दामा ल्याउनु आफैँमा जोखिमपूर्ण काम हो नै। त्यो मानेमा निर्देशक लामाले हिम्मत गरेकै हुन्। उनले गम्भीर विषयलाई हास्य रसमा घोलघाल गरेर दर्शकमैत्री फिल्म बनाउने प्रयास गरेका छन्।
कथाको मूल धरातल साहित्यिक बजारको यथार्थ र व्यक्तिगत सङ्घर्षको वरिपरि घुम्छ। कवि छेवाङ लामा (दयाहाङ राई) को जीवनमा यौन दुर्बलताको समस्या र कविता चोरीको घटनाले ल्याएको द्वन्द्वले फिल्मको कथालाई अघि बढाउँछ।
अमेरिकाबाट आएकी प्रेमिका रञ्जना (दिया मास्के) सँगको सम्बन्धमा देखिएको यौन समस्याले उनको आत्मविश्वास गुम्छ। यसैबीच स्कुटर बिग्रेर बाटोमा भेटिएकी अनामिका (आँचल शर्मा) सँगको भेटले कथामा नयाँ मोड ल्याउँछ। त्यही मोडमा नै फिल्मको कथा केन्द्रित छ।
विषय यौन दुर्बलतामा केन्द्रित रहे पनि निर्देशक लामाले नेपाली साहित्यिक क्षेत्रमा देखिने विकृतिलाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् फिल्ममा। कविता प्रतियोगितामा गुणस्तरभन्दा पनि राजनीतिक झुकाव हेरिने प्रवृत्ति, धनी व्यवसायीहरूले पैसाको बलमा कविको परिचय किन्ने प्रचलन, र आर्थिक विपन्नताका कारण कविहरूले आफ्ना सिर्जना बेच्नुपर्ने बाध्यतालाई फिल्मले सशक्त ढङ्गले उठाउने प्रयास गरेको छ।
तर यो फिल्मको मूल कथावस्तु साहित्य क्षेत्रमा रहेको विकृतिको उजागर गर्नु हैन, यौन समस्याबारे सामाजिक धारणा र त्यसले व्यक्तिमा पारिरहेको प्रभाव हो। शारीरिक दुर्बलता हरेक पक्षमा हुनसक्छ। यौन दुर्बलता पनि यसैको एक पक्ष न हो। तर जसरी अन्य शारीरिक कमजोरीबारे हामी समाज, घर परिवारका सदस्य अनि आफ्नो पाट्नरसँग खुलेर कुराकानी गर्न सक्छौँ त्यसरी यौन समस्याबारे सक्दैनौँ।
यौन समस्या एउटा बहसै गर्न नहुने ट्याबुको रूपमा हाम्रो समाजमा स्थापित भएको छ। त्यही ट्याबुलाई उजागर गर्दै निर्देशक लामाले यो विषयमा पनि उस्तरी नै छलफल गर्नुपर्छ जसरी अन्य विषयमा छलफल गरिन्छ भन्ने सन्देश दिने प्रयास गरेका छन् फिल्ममा।
कलाकारहरूको अभिनय पक्ष सन्तुलित छ फिल्ममा। दयाहाङ राई र आँचल शर्माबीचको केमेस्ट्रीले कथालाई जीवन्त बनाएको छ। दिया मास्केले आफ्नो सीमित भूमिकामा न्याय गरेकी छिन्। बुद्धि तामाङले चन्द्रको भूमिकामा आफूलाई सहज ढङ्गले प्रस्तुत गरेका छन्। तर रियर राईको उपस्थिति कथाको माग अनुसार देखिन्न।
प्राविधिक दृष्टिले पनि फिल्म सन्तुलित छ। निर्देशक लामाको अघिल्लो फिल्म 'नाङ्गो गाउँ' को तुलनामा छायाङ्कन पक्ष सुधारिएको छ यसमा। मेकअप र लाइटिङमा विशेष ध्यान दिइएको देखिन्छ। पृष्ठभूमि सङ्गीतले कथालाई सघाएको छ। तेह्रवटा कविताहरूको प्रयोगले फिल्मलाई मजाको साहित्यिक स्वाद दिएको छ।
विषय गम्भीर छ। तर लामाले गम्भीर विषयको उठान गर्न हास्यरसको सहयोग लिएका छन्। यौन दुर्बलता र त्यसले निम्त्याउने समस्यालाई पर्दामा पस्कँदा लाग्न सक्ने अश्लीलताको आरोपबाट जोगिन निर्देशकले यसलाई हास्य रसमा घोलघाल गरेका छन्।
तर हास्य रसमा घोलघाल गर्दा कतैकतै फिल्मको कथा मूल विषयबाट भड्किएर त्रिपट हुने चरणतिर लागेको पनि देखिन्छ। निर्देशकले होसियारीका साथ कथावस्तुलाई त्रिपट हुनबाट जोगाउने प्रयास त गरेका छन् तर पूर्ण रूपमा सफल हुन सकेका छैनन्।
कला पत्रकारिता हुँदै फिल्म लेखन र निर्देशमा प्रवेश गरेका दीपेन्द्र लामाको पहिलो फिल्मदेखि नै एउटा समस्या देखिन्छ-बलियो सामाजिक कथावस्तु समात्ने तर विषयवस्तु अनुसार निचर्न नसक्ने। अर्थात् राम्रो कागती छान्ने। मजाले साइज मिलाएर काट्ने पनि। तर मजाले रस निकाल्ने गरी निचर्न नसक्ने।
उनको यो समस्या दुखी आत्मामा पनि समाधान भएन। विषयका हिसाबले अति महत्त्वपूर्ण विषय उठाएका हुन् उनले। कलाकार छनोटमा समस्या देखिन्न। एडल्ट फिल्म भए पनि भल्गर हुनबाट फिल्मलाई जोगाउन बढो मिहेनत गरेका छन् उनले। त्यो फिल्ममा देखिन्छ पनि। तर, जुन समस्यामा केन्द्रीत भएका थिए उनले त्यसलाई बलियो गरी निचोडमा पुर्याउन सकेनन् उनले।
कागती जति राम्रो भए पनि बोक्रा र छोक्राले काम हुन्न। चाहिने त त्यसको रस नै हो नि! लामाले राम्रो कागती छाने तर रस निकाल्दा निकाल्दै छोक्रा र बोक्रातिर अलि बढी नै केन्द्रीत भएका हुन् कि भन्ने देखायो फिल्मले। फिल्मको जस अपजस दुवै निर्देशकको नै हो। अझ लामा त यो फिल्मको लेखक समेत भएकाले यसको जिम्मेवारी उनकै काँधमा आउने नै भयो।
निर्देशक दीपेन्द्र लामाको अघिल्लो फिल्म 'नाङ्गो गाउँ' को तुलनामा 'दुखी आत्मा' मा छायाङ्कन पक्ष उल्लेखनीय रूपमा सुधारिएको छ। विशेष गरी इन्डोर सटहरूमा लाइटिङको प्रयोग सन्तुलित छ। क्यामेरा मुभमेन्ट र एंगलहरूले पात्रहरूको मनोदशालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। काठमाडौँको साहित्यिक वातावरण र शहरी जीवनशैलीलाई क्यामेराले सूक्ष्म ढङ्गले कैद गरेको छ। तर केही आउटडोर दृश्यहरूमा प्राकृतिक प्रकाशको प्रयोग अझै परिष्कृत हुन सक्थ्यो।
पृष्ठभूमि सङ्गीतले कथाको मुड र भावनात्मक उतारचढावलाई सघाएको छ। विशेष गरी कविता वाचनका दृश्यहरूमा प्रयोग गरिएको साङ्गीतिक ध्वनि प्रभावकारी छ। तर फिल्मको मध्य भागमा राखिएको 'जुनी भरि भरिलाई' गीत कथाको प्रवाहमा बाधक बनेको छ। यो गीत प्रमोसनल सामग्रीको रूपमा राख्दा बढी उपयुक्त हुने देखिन्छ। डायलग रेकर्डिङ र साउन्ड मिक्सिङ सन्तोषजनक छ, तर केही दृश्यहरूमा पृष्ठभूमि आवाज र संवादबीचको सन्तुलन मिलाउन सकिन्थ्यो।
पात्रहरूको मेकअप र पहिरन तिनको सामाजिक-आर्थिक स्थिति अनुरूप छ। विशेष गरी दयाहाङ राईको कवि छेवाङको लुक र आँचल शर्माको अनामिकाको स्टाइलिङ पात्र अनुकूल छ। तर दिया मास्केको अमेरिकन प्रेमिकाको लुक केही कृत्रिम लाग्छ।
फिल्मको सम्पादन पक्ष मिश्रित छ। कथाको सुरुवाती भाग र मध्यभाग प्रभावकारी छ, तर अन्तिम भागमा लय केही खलबलिएको छ। विशेष गरी रञ्जनाको पुनरागमन र समापन दृश्यहरूको सम्पादन थप परिष्कृत हुन सक्थ्यो। कविता वाचनका दृश्यहरू र हास्य क्षणहरूको सम्पादन भने सफल छ।
पटकथामा केही कमजोरीहरू छन्। कथाको विकासको सुरुवाती भागमा छेवाङको समस्या र साहित्यिक जीवनको चित्रण प्रभावकारी बनेको छ। अनामिकासँगको सम्बन्धको विकास स्वाभाविक देखिन्छ तर रञ्जनाको पुनरागमन र समाधानले फिल्मलाई अविश्वसनीय बनाएको छ।
छेवाङको बहुआयामिक र विश्वसनीय चरित्र निर्माण गर्न निर्देशक सफल नै देखिन्छन्। अनामिकाको पात्र सबल छ तर रञ्जना र केही सहायक पात्रहरूको चरित्र विकास कमजोर देखिन्छ।
साहित्यिक परिवेश अनुकूल संवादहरू प्रभावकारी छन्। हास्य क्षणहरूका संवाद रोचक छन्। यौनसँग जोडिएका विषयलाई प्रस्तुत गर्न अपनाएको डबल मिनिङका संवाद प्रप्सहरुले फिल्मलाई बलियो बनाएको छ। तर केही गम्भीर दृश्यहरूमा संवाद अस्वाभाविक लाग्छन्।
दयाहाङ राईले छेवाङको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन्। यौन दुर्बलताले ग्रसित कविको मानसिक द्वन्द्व र आत्मग्लानिलाई उनले सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन्। आँचल शर्माको अभिनय पनि प्रभावकारी छ। उनको स्वाभाविक अभिनयले अनामिकाको पात्रलाई जीवन्त बनाएको छ। दयाहाङ र आँचलबीचको केमेस्ट्री फिल्मको एउटा सबल पक्ष हो।
दिया मास्केको अभिनय सन्तोषजनक छ, तर उनको पात्रको लेखन कमजोर भएकाले त्यसको प्रभाव देखिँदैन। बुद्धि तामाङले चन्द्रको भूमिकामा राम्रो अभिनय गरेका छन्। तर रियर राईको उपस्थिति अनावश्यक र प्रभावहीन छ।
कविता प्रतियोगितामा देखिने राजनीतिक प्रभाव, आर्थिक विपन्नताका कारण कविहरूले सिर्जना बेच्नुपर्ने बाध्यता, धनी व्यवसायीहरूले पैसाको बलमा साहित्यिक पहिचान किन्ने प्रवृत्ति र प्रतिभाको मूल्याङ्कनमा देखिने पक्षपातका विषयमार्फत निर्देशक लामाले नेपाली साहित्यिक क्षेत्रका विसंगतिहरुको फिल्ममा प्रभावकारी ढङ्गले उठान गरेका छन्।
समग्रमा, 'दुखी आत्मा' ले नेपाली चलचित्र क्षेत्रमा नयाँ विषयवस्तु र प्रस्तुतिको साहसिक प्रयोग गरेको छ। यसले नेपाली फिल्म क्षेत्रमा नयाँ विषयवस्तु र प्रस्तुति शैलीको सम्भावना देखाएको छ। यौन दुर्बलतालाई मर्दाङ्गीसँग लगेर सोच्ने पुरुषको गलत सोचलाई महिला पात्रमार्फत ट्रिट गर्ने निर्देशकको शैली राम्रो छ।
तर, गजबको सामाजिक विषय उठाउने तर विषयको चुरोसम्म नपुग्ने निर्देशक लामाको पुरानै समस्या फिल्म दुखी आत्मामा पनि दोहोरिएको छ। यो पक्षमा लामाले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ।
फागुन ५, २०८१ सोमबार २१:२२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।