महाकुम्भमा स्थान गरेर फर्कँदा कार दुर्घटनामा परेर तीन नेपालीको मृत्यु

भैरहवा : भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी भएर नेपाल फर्कँदै गरेको कार भारतमा दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार महाकुम्भमा स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै कार सडक छेउको डिभाइडरमा ठोक्किएको दुर्घटना भएको हो।
दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका-९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्माको मृत्यु भएको हो। अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।
देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो। कारमा रहेका पाँच जनाको टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो। मृतक नेपालीको शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको छ।
फागुन ५, २०८१ सोमबार २०:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।