भारतको केआईआईटीमा नेपाली छात्राद्वारा आत्महत्या, विरोध गर्ने नेपाली विद्यार्थी निष्कासित

भारतको केआईआईटीमा नेपाली छात्राद्वारा आत्महत्या, विरोध गर्ने नेपाली विद्यार्थी निष्कासित

भुवनेश्वर (भारत) : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली छात्राले आत्महत्या गरेकी छन्। रुपन्देहीकी बी-टेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको कलेज प्रशासनले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक लम्सालको सोही कलेजमा अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्ध रहेको र कुनै विषयमा विवाद भएपछि यस्तो घटना भएको हुनसक्ने बताइएको छ। भुवनेश्वरका डीसीपी पिनाक मिश्राले आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिए।

घटनापछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। कलेज प्रशासनले विरोध गर्ने नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकाली दुई वटा बसमार्फत कटक रेलवे स्टेसन पठाएको छ। एक नेपाली विद्यार्थीका अनुसार उनीहरूलाई जबरजस्ती होस्टल खाली गर्न लगाइएको छ। विद्यार्थीहरूको फेब्रुअरी २८ मा परीक्षा तालिका रहेको बताइएको छ।

प्रहरीले मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य उपकरणहरू नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। मृतकका आमाबुवालाई घटनाबारे जानकारी गराइएको छ। कलेज प्रशासनले स्थिति नियन्त्रणमा रहेको र नेपाली विद्यार्थीहरूलाई सुरक्षाका लागि घर पठाइएको बताएको छ।

फागुन ५, २०८१ सोमबार १७:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।