नेपाल प्रहरीमा पहिलो पटक एआई प्रविधि प्रयोग हुँदै

काठमाडौं : नेपाल प्रहरीले पहिलो पटक एआई (कृत्रिम बौद्धिकता) आधारित इन्टेलिजेन्स प्रविधि प्रयोगमा ल्याउने भएको छ। प्रहरी प्रधान कार्यालयले खरिद गरेको 'एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स' अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउन लागेको हो।
अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतका अनुसार एक करोड रुपैयाँ भन्दा बढी लागतमा भारतबाट खरिद गरिएको यो प्रविधि प्रयोगको अन्तिम चरणमा पुगेको छ। प्रविधि सञ्चालनका लागि भारतको पुणेमा दुई चरणमा गरी १५ जना प्रहरी कर्मचारीलाई विशेष तालिम दिइएको छ।
प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुण भण्डारीले पहिलो चरणमा ७ जना र दोस्रो चरणमा ८ जना गरी १५ जना प्रहरी कर्मचारीलाई तालिम दिइएको जानकारी दिए। उनका अनुसार यो प्रविधिले अपराधका तथ्याङ्कहरूको विश्लेषण गरी भविष्यमा हुनसक्ने अपराधको पूर्वानुमान गर्न सक्नेछ।
एनालाइटिकल टुल्सको रूपमा प्रयोग गरिने यो प्रविधिले आगामी दिनमा ध्यान दिनुपर्ने विषय र चुनौतीहरूको पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यसले अपराधका डाटाहरूको विश्लेषण गरी भविष्यमा हुनसक्ने आपराधिक गतिविधिको प्रवृत्ति र प्रकृतिको पूर्वानुमान गर्न सक्ने डिआइजी भण्डारीले बताए।
विभागका अनुसार यो प्रविधिको प्रयोगले अपराध अनुसन्धानमा नयाँ आयाम थपिने छ। यसले प्रहरीलाई अपराध रोकथाम र नियन्त्रणमा थप सहयोग पुग्नुका साथै अपराध अनुसन्धानको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरीले पहिलो पटक एआई प्रविधि प्रयोग गर्न लागेको यो अवसरलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।
फागुन ५, २०८१ सोमबार १७:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।