जनकपुरमा १२ सय बिघा जग्गा लुट्ने नेताहरूको नाम सार्वजनिक गर्ने सांसद झाको चेतावनी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन्।
उनले भने, ‘अहिले १४ सय विघामा २ सय विघामात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके।’
‘विभिन्न चरणमा हामी सरकारमा हुँदै गर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौँ,’ उनले थपे, ‘अहिले वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, म आफैँ पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन-कुन नेताले कति-कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु।’
साथै उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए।
फागुन ५, २०८१ सोमबार १४:२२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।