ओलीलाई ‘हिटलर प्रवृत्ति’ भनेपछि रिसाए सूर्य थापा, ‘मिडिया म्यानेजमेन्ट’संसद् सचिवालयलाई आग्रह

काठमाडौं : एमाले सांसद् सूर्यबहादुर थापाले आइतबारको प्रधिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सञ्चारकर्मीले सोधेको प्रश्नप्रति आपत्ति जनाएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको आकिस्मक समयमा सांसद् थापाले प्रधानमन्त्री ओलीलाई हिजो संसद् भवन परिसरमा सोधिएको प्रश्नप्रति आपत्ति जनाउँदै मिडिया म्यानेजमेन्ट गर्न संघीय संसद सचिवालयसँग आग्रह गरे।
‘हिजो सम्मानीय प्रधानमन्त्रीज्यूलाई दक्षिण गरी सोधिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्रीज्यू यहाँ प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो। नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ?’
उनले प्रश्न गरे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका मिडियाका साथीहरुले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार लगायतका कुरामा ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ मिल्दैन? मिडिया म्यानेजमेन्ट गर्नेतिर संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम व्यवस्थित गरियो भन्ने अनुरोध गर्न चाहन्छु।’
के भएको थियो आइतबार?
आइतबार एक सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको छ भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू,’ भन्ने प्रश्न गरेका थिए। जसको जवाफमा ओलीले ‘त्यो आरोप सुन्दा राम्रो लाग्यो हैन?’ भनेर प्रतिप्रश्न गरे।
त्यसपछि सञ्चारकर्मीले ‘त्यस्तै देखिन्त त! बाँसबारी...’ ओलीले लगत्तै प्रतिवाद गर्दै सोधे, ‘त्यस्तै देखियो?’ जवाफमा सञ्चारकर्मीले भने, ‘त्यस्तै देखिन्छ प्रधानमन्त्रीज्यू।’
त्यत्तिकैमा अर्का सञ्चारकर्मीले ‘हिटलर प्रवृत्तिमा जाँदैछ सरकार?’ भनेर सोध्छन् भने त्यसपछि अर्का सञ्चारकर्मीले ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू। जवाफ त दिएर जानुस्।’ भन्छन्।
त्यसपछि महिला सञ्चारकर्मीले ‘प्रभु शाह माननीयको जवाफ किन नदिनुभएको?’ भनेर प्रश्न गर्दा उनी सुनेको नसुन्यै गरेर गाडी चढ्छन्।
फागुन ५, २०८१ सोमबार १३:४३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।