राष्ट्रिय सभा वृद्धाश्रम होइन, पाकाहरूको सदन हो : रघुजी पन्त

काठमाडौं : एमाले सांसद् रघुजी पन्तले राष्ट्रिय सभा वृद्धाश्रम नभएर पाकाहरुको सदन भएको बताएका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको द्वन्द्वले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने बताए।
‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन तर पाकाहरुको सदन हो,’ उनले भने, ‘यो सदनलाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्ने काम गर्नुहुँदैन।’
‘प्रतिनिधि सभाका एक सांसदले बोलेको विषयलाई लिएर राष्ट्रिय सभाबाट खेद पारित हुनु आफैँमा दुःखद् हो,’ उनले अगाडि थपे, ‘हामीले पाठ सिकौँ। कसैले कसैलाई दोष नदिउँ। एकले अर्कालाई सम्मान गरौँ।’
लोकतन्त्र आफैँमा सुसंस्कृत प्रणाली भएको भन्दै उनले एकअर्कालाई सम्मान गर्ने र एकअर्काका कुरालाई गम्भीर तरिकाले सुन्ने र त्यसप्रतिको असहमतिलाई संसदीय र मर्यादित भाषामा व्यक्त गर्ने गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका थिए। त्यसको विरोधमा राष्ट्रिय सभाले हिजो खेद प्रस्ताव पारित गरेको थियो।
फागुन ५, २०८१ सोमबार १३:२२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।