आईपीएलको खेलतालिका सार्वजनिक : ६५ दिनमा ७४ खेल, कोलकातामा हुनेछ उद्घाटन र फाइनल

एजेन्सी : विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलतालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेल मार्च २२ मा कोलकातामा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच खेलिनेछ।
दोस्रो ठूलो खेल मार्च २३ मा मुम्बई इन्डियन्स (एमआई) र चेन्नई सुपर किंग्स (सीएसके)बीच चेन्नईमा साँझ ७:३० बजे खेलिनेछ।
डिफेन्डिङ च्याम्पियनको घरेलु मैदानमा उद्घाटन र फाइनल खेल
आईपीएल आयोजकले सार्वजनिक गरेको तालिकाअनुसार यसपटक ६५ दिनमा ७४ खेल खेलाइनेछ। मे १८ सम्ममा लिग चरणका ७० खेल हुनेछन्, जसमा १२ डबल हेडर अर्थात् १ दिनमा २ खेल पनि समावेश छन्।
आईपीएलमा प्रतियोगिताको उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा खेलाउने परम्परा रहिआएको छ। यस पटक पनि यी दुवै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन्।
फाइनल मे २५ मा हुनेछ, क्वालिफायर-२ पनि मे २३ मा कोलकातामा खेलिनेछ।
गत सिजनको उपविजेता टोली सनराइजर्स हैदराबादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा दुई प्लेअफ खेलहरू पनि आयोजना गरिनेछ। यहाँ क्वालिफायर-१ मे २० मा र एलिमिनेटर मे २१ मा खेलाइनेछ।
दिल्ली क्यापिटल्स र लखनऊ सुपरजायन्ट्सले आफ्नो पहिलो खेल मार्च २४ मा विशाखापट्टनममा खेल्नेछन्। यसैबीच, २५ मार्चमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स र पञ्जाब किंग्स बीच खेल हुनेछ। यो दुवै टोलीको लागि सिजनको पहिलो खेल हुनेछ।
मार्च २३ मा पहिलो डबल हेडर
१८औं सिजनको पहिलो डबल हेडर प्रतियोगिताको दोस्रो दिन मार्च २३ मा हुनेछ। एसआरएच र आरआर दिउँसो ३:४५ बजे हैदराबादमा भिड्नेछन्। मुम्बई र चेन्नई बीचको खेल साँझ ७:४५ बजेदेखि खेलिनेछ।
यसपछि, मार्च ३० मा दोहोरो हेडर हुनेछ। ५, ६, १२, १३, १९, २० र २७ अप्रिलमा दुई खेल हुनेछन्। डबल हेडरहरू मे ४, ११ र १८ मा खेलाइनेछ। सबै डबल हेडरहरू शनिबार वा आइतबार मात्र हुनेछन्।
१३ स्टेडियममा १० टोलीको खेल
अहमदाबाद, मुम्बई, चेन्नई, बेंगलुरु, लखनऊ, मुल्लानपुर (मोहाली), दिल्ली, जयपुर, कोलकाता, हैदराबाद १० टोलीका घरेलु मैदान हुन्। यी बाहेक, खेलहरू गुवाहाटी, विशाखापट्टनम र धर्मशाला सहित कुल १३ स्थलहरूमा खेलाइनेछ।
प्रतियोगितामा १३ वटा स्थानमा ६५ दिनमा १० टोलीहरू बीच ७४ खेलहरू हुनेछन्।
गुवाहाटी राजस्थान रोयल्स (आरआर) को दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ २ खेल खेल्नेछ। टोलीले यहाँ मार्च २६ मा कोलकाता र मार्च ३० मा चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ।
धर्मशाला पञ्जाब किंग्स (पीबीकेएस)को दोस्रो घरेलु मैदान हो। टोलीले यहाँ ३ खेल खेल्नेछ। विशाखापट्टनम भने दिल्ली क्यापिटल्स (डीसी) को दोस्रो घरेलु मैदान हो। टोलीले यहाँ २ खेल खेल्नेछ।
उपाधि दौड
चेन्नई र मुम्बईले सबैभन्दा धेरै उपाधि जितेका छन्। आईपीएल भारतको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। यो हरेक वर्ष मार्च देखि मे महिनामा टी२० ढाँचामा खेलिन्छ।
यो २००८ मा ८ टोलीबाट सुरु भएको थियो। उक्त सिजन फाइनलमा चेन्नईलाई हराउँदै राजस्थानले पहिलो सिजनको उपाधि जितेको थियो।
मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै अर्थात् ५-५ पटक उपाधि जितेका छन्। तीन पटक उपाधि जितेको केकेआर तेस्रो सबैभन्दा सफल टोली हो।
फागुन ५, २०८१ सोमबार ०९:५९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।