नेपाली पडकास्टर सुशान्तले प्राइभेट गरे भिडियो, गायक कुमालाई उडाउँदा समस्यामा कमेडियन सजन

नेपाली पडकास्टर सुशान्तले प्राइभेट गरे भिडियो, गायक कुमालाई उडाउँदा समस्यामा कमेडियन सजन

काठमाडौं : सजन श्रेष्ठ, रोस्ट भिडियो हुँदै कमेडी र पछिल्लो समय आफ्नै पडकास्टबाट चर्चामा आए। मध्यम तहको कमेडी भए पनि उनलाई दर्शकले राम्रै साथ दिए। कन्टेन्ट क्रियशनमा जम्दै गए।

कमेडी भनेको अर्काको बिल्ला हान्ने अनि पचाउनै हम्मे पर्ने शब्दको प्रयोग गर्ने त पक्कै हैन। हरेक पेसाको आ-आफ्नै सीमा त हुन्छ नै। सीमा नाघ्दा त्यो केबल जोकमा मात्र सीमित हुन्न।

उदाहरण भारतमा बबन्डर मच्चिरहेको द लेटेन्ट शोको नतिजा नै काफी छ जहाँ आमा-बाको विषयलाई यौनसँग जोड्दा शो त बन्द भयो त चर्चा र सफलताको शिखरमा पुगेका कमेडियन कानुनको फन्दामा परे।

आर्थिक लाभका लागि पडकास्टमा अनलाइनलाई जुवा प्रवर्धन गर्ने वानएक्स बेटको सरोगेट कम्पनीको प्रमोशनल कोड राख्नसमेत नछाड्ने उनी एक पडकास्टमा दिएको अभिव्यक्तिले नमजासँग फसे।

पडकास्ट थियो सुशान्त प्रधानको। उनले अहिले सरकारले प्रक्रिया अगाडि बढाएको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे गफ गर्न पडकास्टर तथा कमेडियन सजन, उत्सव सापकोटा अनि गायक सुजन जिम्बालाई बोलाएका थिए।

प्राय विषय अनुसारका विज्ञलाई निम्त्याउने गरेका सुशान्तले यी तीन जनालाई बोलाएर गफ गर्दा विधेयकले कन्टेन्ट क्रियटरमा पार्ने प्रभावबारे गफ होला भन्ने लाग्नु स्वाभाविकै हो। तर विषय गम्भीर गफ भने पुरै हावा। सार्वजनिक रूपमा सुन्नै सकस हुने शब्द कति कति।

लेटेन्ट शोकै क्याटगरीमा राख्दा पनि फरक नपर्ने शैलीको गफकाक्रममा सामाजिक सञ्जाल विधेयक अनि एआइबारे गफ हुँदाहुँदै के-के हो के-के। सुन्नै मन लागे नि हेडफोन अनिवार्य। त्यो संवाद कमेडीबारे थिएन। तर प्रस्तुति सी ग्रेडको।

त्यही गफमा सजनले अहिलेका लोकप्रिय गायक कुमा सागरको गायन शैलीलाई उडाए। कुमाले नेवारी टिपिकल शैलीमा गाउँछन्। उनको त्यही शैली हिट छ। स्रोता कायल छन् उनको गायक शैलीमा। सजनले प्रशंसा गर्ने चरणमा प्रवेश गर्नु उनको गायन शैलीलाई उडाए गीत गाउँदै। त्यसमा उत्सवले अश्लिल शैलीमा जिस्काए।

त्यो एपिसोड नै अति भद्दा थियो नै। त्यसका पनि एक तहका दर्शक होलान्। उत्सवको पडकास्ट सुन्नेहरूका लागि प्रयोग भएका शब्द नौला पनि हैनन् होला। तर सामाजिक सञ्जाल पब्लिक फोरम हो। त्यहाँ पब्लिक फोरममा प्रयोग गरिने हदका शब्द थिएनन्।

पडकास्टर प्रधान आलोचनाको तारोमा पर्ने नै भए। उता सजन कुमाको प्रशंसकको तारोमा परे। उनले आफू कमेडियन भएकाले हल्का रमाइलो मात्र गरेको तर आफू कुमाको बिग फ्यान भएको भन्दै माफी मागे। तर त्यो पडकास्ड उनको कमेडीबारे त थिएन।

सामाजिक सञ्जाल अनि एआइबारे थियो। उनको माफीले पनि कुमा सागरको फ्यानको चित्त बुझेन। आलोचना जारी छ। उता पडकास्टर सुशान्त त्यो ३८० औँ एपिसोड नै युट्युबमा प्राइभेट गर्न बाध्य भए। उनले सही निर्णय लिए।

धन्न एक हदसम्म नेपाली समाज सहनशील नै छ। नत्र त्यो एपिसोड जुन प्रकृतिको थियो त्यसले उनी समय रैनाको अवस्थामा पुग्न बेर थिएन। प्राइभेट गरे बेलैमा।

अभिव्यक्ति स्वतन्त्रताको कुनै विकल्प छैन।तर हरेक स्वतन्त्रतासँगै जिम्मेवारी पनि हुन्छ नै। सरकार सामाजिक सञ्जालका कन्टेन्ट कस्न कानुनै बनाउन कस्सिएको बेलामा सुशान्तले जुन शैलीको कार्यक्रम बनाए त्यसको आधारमा त सरकारको तर्क बलियो देखिन्थ्यो।

यति हदसम्म नगरेकै वेश। कि सिधै एडल्ट कन्टेन्टको सूचना हाल्नु नत्र कमसेकम आफ्नो परिवारका सदस्यसँग बसेर सुन्न/हेर्न सक्ने हदसम्मको त कार्यक्रम बनाउनु नि! कतै अब चेते कि!

फागुन ५, २०८१ सोमबार ०१:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।