स्वास्थ्य मन्त्रालयको विवादित टेन्डरबारे संसद्मा उठ्यो प्रश्न, मन्त्री पौडेलको संलग्नताबारे सभामुखको ध्यानाकर्षण

काठमाडौँ : प्रतिनिधि सभामा बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत अगाडि बढेको १८ करोडको खरिदमा भएको मिलेमतोको विषय उठेको छ। सांसद विमला सुवेदीले आइतबार संसद्को शून्य समयमा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले अगाडि बढाएको १८ करोडको खरिदमा भएको मिलेमतोबारे प्रश्न उठाएकी हुन्। उनी माओवादी केन्द्रकी सांसद हुन्।
उनले प्रारम्भमा स्वास्थ्य बिमा सम्बन्धी समस्याबारे विषय उठाएकी थिइन्। त्यसपछि उनले विभाग अन्तर्गत अगाडि बढेको १८ करोडको तीन टेन्डरको स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरी बनाएर खरिद प्रक्रिया अगाडि बढाएकोबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।
उकेरामा प्रकाशित समाचारलाई उद्धृत गर्दै उनले स्पेशिफिकेशन लक्ड गरेर मिलेमतोमा अगाडि बढेको खरिदबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ।
सांसद सुवेदीले मिलेमतोमा अगाडि बढेको खरिदमा स्वास्थ्यमन्त्रीको संलग्नता देखिएको भन्दै सो खरिदबारे भएको के हो भन्ने संसद्मा जानकारी गराउन सभामुखमार्फत स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।
के हो खरिद प्रकरण ?
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत अगाडि बढेका स्वास्थ्य उपकरणको खरिद प्रक्रिया मिलेमतोमा अगाडि बढेका छन्।
महाशाखाले मंसिर २३ मा १८ करोडको तीन वटा टेन्डरका स्पेशिफिकेशन लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो। त्यसबारे प्रमाणसहित उकेराले समाचार प्रकाशित गरेपछि विभागले टेन्डरको अवधि १० दिन थपेर स्पेशिफिकेशन संशोधन गर्यो। तर लक्ड गरिएका बुँदाहरू जस्ताको त्यस्तै राख्यो।
मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गरेको थियो।
उकेराको अध्ययनमा करिब १८ करोडको तीन वटै टेन्डर निश्चित मेडिकल उपकरणका व्यापारीलाई दिनेगरी मिलेमतोमा प्रक्रिया अगाडि बढेको खुलेको थियो।
चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ को स्पेशिफिकेशन ‘कार्ल स्टोर्ज’ कम्पनीको उत्पादन मेसिनसँग मिल्नेगरी लक्ड गरिएको छ। यसका नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी अमर श्रेष्ठ हुन्।
‘ऐनस्थेसिया मेसिन’ ‘बीपीएल’को ‘इ–फ्लो’ को नेपाली सप्लायर्सलाई दिनेगरी स्पेशिफिकेशन बनाएको देखिन्छ। भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगसँग मिल्ने गरी स्पेशिफिकेशन बनाएकाले टेन्डर प्रक्रिया अगाडि बढेमा उसैको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालिले टेन्डर पाउने देखिन्छ। लुम्बिनी हेल्थ केयरका मालिक पोस्टराज ज्ञवाली हुन्।
‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ टेन्डरको स्पेशिफिकेशनले यो इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ। यसको नेपाली सप्लायर पर्सा इम्पोरियम हो। यसको सञ्चालक हुन् शशी श्रीवास्तव।
हेमोडाइलाइसिसको टेन्डर पनि उस्तै
विभागले पुन माघ २ मा टेन्डर आव्हान गरेर प्रिबिड बैठकसमेत सक्काएको ५० सेट ‘हेमोडाइलाइसिस मेसिन’ र हेमोडाइलाइसिस मेसिनका लागि सात सेट ‘रिभर्स ओस्मोसिस (रिभर्स ओस्मोसिस युनिट फर हेमोडाइलाइसिस)’ खरिद प्रक्रियामा समेत मिलेमतो देखिन्छ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८१ माघ २ (२०२५, जनवरी १५) मा आठ करोड ८८ लाखमा ‘हेमोडाइलाइसिस मेसिन र रिभर्स ओस्मोसिस मेसिन’ खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो।
खरिदका लागि बनाएको स्पेशिफिकेशन जापानको मेसिन उत्पादक कम्पनी ‘निप्रो’को ‘मोडल’सँग मात्र मिल्नेगरी स्पेशिफिकेशन लक्ड गरिएको छ।
प्रिबिडमा स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादकसँग मात्र मिल्नेगरी बदनीयतपूर्ण रूपमा बनाएको भन्दै संशोधन प्रस्ताव परेको थियो। तर विभागले संशोधन गरेको छैन।
अहिले जारी प्रक्रिया अनुसारै टेन्डर प्रक्रिया पुरा भएमा यो टेन्डर जापानको मेसिन उत्पादक कम्पनी ‘निप्रो’को नेपाल एजेन्टले पाउने देखिन्छ।
व्यवस्थापन महाशाखाले ५० सेट ‘हेमोडाइलाइसिस मेसिन’ र हेमोडाइलाइसिस मेसिनका लागि सात सेट (वटा) ‘रिभर्स ओस्मोसिस (रिभर्स ओस्मोसिस युनिट फर हेमोडाइलाइसिस)’ खरिदका लागि गरेको टेन्डरमा सेटिङ देखियो। यो प्याकेजको टेन्डर भएकाले एउटामा लक्ड भएपछि दुवै टेन्डर एउटै सप्लायर्स कम्पनीले पाउँछ।
उकेराको अध्ययनमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर गरेको ‘हेमोडाइलाइसिस मेसिन’को प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदाहरूमा जापानको मेसिन उत्पादक कम्पनी ‘निप्रो’को ‘मोडल’सँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखियो।
व्यवस्थापन महाशाखाले ‘हेमोडाइलाइसिस मेसिन’को यो टेन्डर जापानी मेसिन उत्पादक कम्पनी ‘निप्रो’को ‘मोडल’सँग लक्ड गरेर ‘जिएच मेडिहेल्थ कन्सर्न प्रालि’लाई दिने तयारी गरेको देखिन्छ। यसका मालिक मुकुन्द गौतम हुन्।
खरिद मिलेमतोमा संलग्न देखिएका स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. विकास देवकोटा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति व्यवस्थापन शाखा प्रमुखमा दयाकृष्ण पन्त प्रदीप पौडेलले सरुवा गरेका कर्मचारी हुन्।
व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आशिष् चौहान समेत मिलेमतोको टेन्डरको स्पेशिफिकेशन निर्माणमा संलग्न छन्।
खरिद मिलेमतोबारे प्रमाणसहित सार्वजनिक हुँदा पनि मन्त्री पौडेल ‘खरिदमा मन्त्रीको संलग्नता हुन्न, कर्मचारी नै जिम्मेवार हुन्’ भन्ने तर्क गर्दै बसेका छन्। खरिद मिलेमतोमा मन्त्री पौडेलकै पारिवारिक सदस्यको भूमिका समेत शङ्कास्पद देखिएको छ।
मन्त्रालय र विभागबारे उकेरामा प्रकाशित समाचार
फागुन ४, २०८१ आइतबार २३:४५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।