सांसदहरूको प्रश्नको जवाफ दिन संसदमा आएका प्रधानमन्त्री ओली उल्टो  प्रश्न सोधेर गए

सांसदहरूको प्रश्नको जवाफ दिन संसदमा आएका प्रधानमन्त्री ओली उल्टो  प्रश्न सोधेर गए
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ : प्रतिनिधि सभामा आइतबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विचित्र दृश्य देखियो, प्रश्नोत्तर कार्यक्रममा  जवाफ दिन आएका प्रधानमन्त्री केपी शर्मा ओली उल्टो सांसदहरूलाई प्रतिप्रश्न गरेर हिँडे।

प्रतिनिधि सभामा प्रश्न सोध्ने अधिकांश सांसदहरूलाई प्रधानमन्त्रीले नै उल्टो प्रश्न सोधे। उनी उत्तरभन्दा प्रश्न सोध्दै केन्द्रित देखिए। विशेष गरी विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै प्रधानमन्त्रीले लगातार प्रतिप्रश्न गरेका थिए।

सत्तापक्षका सांसदहरूको प्रश्नमा भने प्रधानमन्त्रीले लिखित जवाफ पढेर सुनाएका थिए। तर विपक्षी दलका सांसदहरूको प्रश्नमा उनी हाबी हुने गरी प्रस्तुत भए र प्रतिप्रश्नमै सीमित रहे।

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले १ सय ६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरूको प्रगति सोध्दा ओलीले व्यङ्ग्यात्मक शैलीमा  भने ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ।’

ज्वालाले ३९६ वटा अस्पतालको एकै पटक उद्घाटन गरेको भन्दै त्यसको प्रगतीविवरण मागेका थिए। प्रधानमन्त्री ओली जवाफतिर लागेनन्। त्यसरी एकै पटक उद्घाटन गर्ने उनी नै थिए।

उनले जवाफको साटो उल्टो प्रश्न गर्दै भने  ‘कार्यक्रम रद्द गर्नेहरूले नै कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने?’

माओवादी केन्द्रका पूर्व अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको सुस्त अवस्थाबारे प्रश्न गर्दा प्रधानमन्त्रीको जवाफ थियो ‘७ महिना अगाडि तपाईँ आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु।’

पुनकै विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रश्नमा त ओलीले प्रतिप्रश्नको वर्षा नै गरे। उनले ‘मेरिटोक्रेसी त्यतिबेला नै देखिएको भन्दै प्रश्न गरे ‘जतिबेला प्रथम अङ्क प्राप्त गर्नेलाई मेरिटोक्रेसीमा नदिएर द्वितीय अङ्क प्राप्त गर्ने, तृतीय अङ्क प्राप्त गर्नेलाई अगाडि सारेकोबाटै मेरिटोक्रेसी प्रस्ट भएन र?"

कार्यक्रमको चरम तब पुग्यो जब आजपा अध्यक्ष प्रभु साहले वैदेशिक रोजगारीसम्बन्धी प्रश्न गरे। प्रधानमन्त्रीले जवाफ दिनुको साटो उल्टै सोधे ‘यो म सरकारमा आएपछिको आठ महिनामा भएको हो? तपाईँले भनेको ७० लाख ८ महिनामा विदेश गएका हुन्?’

साहले अवैध बाटोबाट सम्पत्ति विदेश लैजान रोक्न नसकेको भन्दै त्यस्तो प्रधानमन्त्रीलाई सक्षम भन्ने कि असक्षम, भारत भ्रमणमा जान्छु भनेको त्यो कहिले हो, नेपाली श्रमिकलाई नारकिय दासतामा धकेल्दा के कति लाभ पाउनु भएको छ? जस्ता प्रश्न गरेका थिए।

प्रभु साहले का प्रश्नहरूलाई अपमानजनक भन्दै प्रधानमन्त्री ओली बिना जवाफ कार्यक्रमबाट बिदा भए। संसदीय प्रश्नोत्तर कार्यक्रम जवाफभन्दा प्रतिप्रश्नको थलोमा परिणत भयो।

फागुन ४, २०८१ आइतबार २२:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।