बेलुन विस्फोटको घटनाको छानबिन गर्न समिति, १५ दिनको म्याद

बेलुन विस्फोटको घटनाको छानबिन गर्न समिति, १५ दिनको म्याद

काठमाडौँ : ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ।

कार्यक्रममा बेलुन उडाउने क्रममा विष्फोटहुँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए। दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने समय तोकिएको छ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव छन्।

समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ। 

फागुन ४, २०८१ आइतबार २२:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।