सञ्चारकर्मी प्रियंकाको प्रसव पीडा र खुसी : सुत्केरी हुँदा सासु नहुनु ‘ब्याडलक’ नै हो, ‘असल आमा बन्न सकिन कि’ भन्ने लागिरह्यो

रेडियो नेपाल, नेपाल वान र तराई टेलिभिजनमा लामो समय कार्यक्रम सञ्चालन गरेकी सञ्चारकर्मी हुन्- प्रियंका पाण्डे। लामो समय प्रत्यक्ष रूपमा सञ्चारमाध्यममा जोडिएर काम गरेकी उनी अहिले फ्रिलान्सर भएर काम गरिरहेकी छन्।
लगभग एक वर्षदेखि भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने भोजपुरी किताब महुवाको शंसोधन मण्डलमा समेत काम गरिरहेकी छन्। गाउँको हेडमास्टर र शिक्षिकाको घरमा जन्मिएकी उनी आफैंसँग पनि अध्यापन गराएको अनुभव छ।
मधेश आन्दोलनमा जोडिन पुगेकी उनले उद्घोषण कलालाई तिखार्नको लागि रेडियो वक्ताको तालिम लिइन्। तर, पछि राजनीतिबाट टाढा हुँदै आफ्नो उद्घोषण कलालाई रेडियोमा लगेर जोडिइन्। यता तालिम पनि सकिनु उता वीरगन्जमा गढीमाई एफएम पनि खुल्नु, उनको लागि गजबको संयोग जुर्यो। तर, उनले घरबाट मिडियामा काम गर्न अनुमति पाइनन्।
यद्यपि, बोल्न जान्ने, तालिम पनि लिएको भन्ने थाहा पाएपछि आफन्तहरूले कामको लागि घरमै बोलाउन थाले। मधेश आन्दोलनको समयमा भाषा र संस्कृतिको पहिचानको लागि कुरा गर्ने महिला सञ्चारकर्मी भन्दै उनको डिमाण्ड निकै बढ्यो। अनि उनले एफएममा काम सुरू गरिन्। थुप्रै लोकल एफएममा उनले काम गरिन्।
‘पैसा आउन थालेपछि आत्मविश्वास बढ्ने रहेछ। त्यसपछि केही समय मै मेरो करियर एकदम राम्रो हुन गयो’, उनले भनिन्।
आमा भएपछि लामो समय सञ्चारमाध्यमको काममा प्रत्यक्ष उनी जोडिएकी छैनन्। यसबीचमा उनले भोजपुरी भाषाको सिरियल लेखनको पनि काम भने गरिन्। उनै प्रियंकाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन्:
०००
मलाई बिहेको दबाब नआएको होइन। तर, आफ्नो खुट्टामा आफैँ उभिनु भनेको आत्मविश्वास बढ्नु पनि रहेछ। त्यसमाथि हाम्रो तिर त पारिवारिक कुनै पनि कार्यक्रममा जाँदा बुहारी र ज्वाइँ छान्ने चलन जस्तै नै थियो। मलाई त्यो कहिल्यै पनि मन परेन।
सञ्चारमाध्यममा काम गरिरहँदा धेरै कुराहरू बुझ्न पाएँ। धेरै मान्छेहरूसँग प्रत्यक्ष, अप्रत्यक्ष भेटेर धेरै कुरा जान्न पाएँ अनि हामी उपत्यका बाहिर बसेका मान्छेहरूलाई ‘उपत्यका जान पाए हुन्थ्यो, काठमाडौंमा केही गर्न पाए हुन्थ्यो’ भन्ने हुने रहेछ। मैले उतैबाट काम खोजेर काठमाडौं आएको हुँ। मेरो काममा घरमा खासै खुसी हुनुहुन्थेन।
त्यहि सिलसिलामा मैले मेरो श्रीमानलाई भेटें। उहाँ पनि पत्रकार नै हुनुहुन्छ। पहिला हामीले सँगै रेडियो नेपालमा काम पनि गरेका छौँ। उहाँ अहिले भारतीय मिडिया आजतकमा नेपालको प्रतिनिधि हुनुहुन्छ। उहाँले मलाई पहिला देखि नै मन पराउनु भएको रहेछ। तर, मैले सुरूमा खासै चासो देखाइनँ।
मलाई जन्मदिन एकदम धुमधामका साथ रमाइलो गर्न मन लाग्छ। त्यै भएर काठमाडौं आएपछि मैले ममीबाबालाई समेत बोलाएर जन्मदिन मनाउने तयारी गरेको थिएँ। त्यसबेला एउटा नचिन्ने केटा उसको दिदी-भिनाजुसँग आएको थियो। त्यसबेला मलाई हेर्ने भनेर आएको रहेछ।
जन्मदिन भएर मैले केही भनिँन। पछि पंकज(श्रीमान्)जीलाई फोन गरेर आफू उहाँसँग बिहे गर्न तयार भएको भनेँ। अनि हामीले एकअर्कालाई समय दिएर, राम्रोसँग बुझेर बिवाह गर्यौँ।
श्रीमानको घरबाट अहिले पनि त्यही माया र सम्मान मैले पाइरहेकी नै छु। बिहेपछि करिब तीन महिना घरमै बसेँ। घरबाट मलाई कहिले पनि केही कुरामा रोक्नु भएन। तर, बुहारी भएपछि आफैँले पनि आफैँलाई सिमाना तोकिने रहेछ।
उहाँहरूले नराम्रो मान्नु होला कि भनेर म निकै सचेत हुन्थेँ। बिहेपछि भन्दा मलाई सन्तानहरू भइसकेपछि गाह्रो भएको हो। हामी दुवैजना त्यसबेला रेडियो नेपालमा थियौँ। म करारमा थिएँ, श्रीमान् त पक्की जागिरमै हुनहुन्थ्यो। तर, सासु क्यान्सरको अन्तिम स्टेजमा हुनुभयो। उहाँलाई समय दिन दुई मध्ये एक घरमा बस्नैपर्ने भयो।
मेरो करारको काम भएको कारण मैले रेडियो नेपालको काम चैँ छोडे। तर, सासुले बुहारी भए पनि छोरालाई नै खोजिरहनुभयो। अनि उहाँले पनि त्यो काम छोड्नपर्यो। पछि सासु पनि बित्नु भयो। हामीले घरखर्चमा धेरै कटौती गर्नपर्यो। अनि केहि महिनामै श्रीमानले आजतकमा काम पाउनु भयो।
मेरो भाइ चीनमा बसेर एमबिबिएस गर्दै थियो। मेरो पनि स्नातकोत्तर सक्किसकेको थियो। उसले त्यहाँ पढाउने व्यवस्था मिलाइदियो। म पढाउनको लागि चीन गएँ। श्रीमान छुट्टीमा त्यहाँ आउनुभएको थियो। त्यहि बेलामा मेरो गर्भ रह्यो।
एकदम टाइट सेड्युल भएको समयमा गर्भावस्थामा मैले आफूलाई समयनै दिन नसक्ने भयो। अनि परिवारको र श्रीमानको सल्लाहमा म नेपाल फर्किएँ। बाबु जन्मिएपछि फेरि जाने भनेको बाबु जन्मिएको अर्को वर्षमा मेरो फेरि अर्को गर्भ रह्यो। अनि चीनबाट म टाढा भएँ।
गर्भवती अवस्थामा के गर्नुपर्छ भन्नेबारे केही थाहा थिएन। त्यसमाथि मलाई एकदम डर लाग्थ्यो। मेरो बच्चालाई केही हुने हो कि उसलाई केही भइहाल्यो भने के गर्ने होला भनेर सोच्थे जति खेर पनि।
म चीनमा हुने बेला ०७२ सालको भूकम्प आएको थियो। म यहाँ हुँदा त नाकाबन्दी चलिरहेको थियो। श्रीमान् पनि रिपोर्टिङको लागि विराटनगर जानुभयो। म घरमा प्राय एक्लै हुन्थ्यो। त्यसले गर्दा म झन् बढी आत्तिएकी थिएँ। अनि मैले जहाँ हुनुहुन्छ, मलाई पनि त्यही लानु भनेर गएँ।
सासु हुनुहुन्थेन। हाम्रोमा फेरि पहिलो सन्तान घरमै जन्माउनुपर्छ भन्ने थियो। अनि अहमदावादमा देवरदेवरानी भएको ठाउँमा गएँ। त्यो बेलामा मलाई थाईरोयड पनि भएको थियो। तौल पनि बढेर ८६ केजी पुगेको थियो। आफ्नै जिउ मलाई पहाड जस्तै लाग्थ्यो। सबैले मलाई हेरेर जुम्ल्याहा हुन्छ कि! भन्थे।
बाबु पनि जन्मिँदा ठूलै जन्मियो। घाँटीमा प्लासान्टा बेरिएको भएर अप्रेशननै गर्नुपर्छ भनेर पहिला नै थाहा भयो। अनि समय भन्दा अगाडिनै अप्रेशन गरेर बच्चा निकाल्न पर्यो। त्यहाँ फेरि एकदम धेरै धार्मिक कुराहरू मान्ने रहेछ। अनि मिति नै हेरेर होलीको दिनमा बाबुलाई जन्म दिएको।
बाबु जन्मिएपछि स्तनपान पनि राम्रोसँग गराउन पाइनँ। त्यो बेलामा राम्रो आमाले स्तनपान गराउनैपर्छ भन्ने थियो नि! अनि मैले दूध खुवाउन नपाउँदा ‘असल आमा बन्न सकिन कि!’ भन्ने लागिसकेको थियो। पोस्टपार्टम डिप्रेशनको बारेमा धेरै सुनेको थिएँ, मैले त्यो पनि महसुस गरे त्यसबेला।
नानीको समयमा फेरि त्यस्तो केही पनि भएन। हाम्रोमा त छोरा पाएको भनेर निकै खुसी मनाइन्छ नि! तर, मेरो त्यस्तो अवस्था देखेर मेरो श्रीमान् खुसी नै हुनु सक्नुभएको थिएन। मलाई त धेरै किसिमको डर मात्र लाग्थ्यो। बाबु मेरो हातबाट झर्छ कि, थाईरोयड मलाई सधैँ यस्तै कमजोर बनाउने हो कि भनेर।
अप्रेशन गरेपछि त बस्न पनि गाह्रो हुने रहेछ। मेरो शरीर पनि झन्-झन् ठूलो भएको थियो। आमा भएको महसुस एकातिर, त्यसपछिको पीडा अर्कोतिर भयो। त्यै भएर पनि मेरो सुत्केरी स्याहार राम्रो हुन सकेन। देउरानी आफैँ सानो अनि मलाई पनि केही थाहा नभएको। त्यसबेला मैले मेरो सासुलाई निकै याद गरेँ। मेरो ममी आउनुभएको थियो। तर ममी त सधैँ बस्ने कुरा भएन। सासु भएको भए त नाति भनेर खूब माया गर्नुहुन्थ्यो होला भन्ने लाग्यो। श्रीमानले पनि खूब हेर्नुभयो।
पछि स्तनपान राम्रो हुन थालेपछि त बाबुले जति खेर नि दूध खान खोज्थ्यो। तर नानी पनि भइहाल्यो। नानी भएपछि बाबुलाई भन्दा नानीमा ध्यान दिनुपर्यो। दुई जनामा दुई वर्षको मात्र उमेर अन्तर छ। अप्रेशन नै गर्नुपर्ने भएपछि दुवै जनाको जन्म मिति मिलाएर नै अप्रेशन पनि गरेको। नानी जन्मिएपछि मैले आफू धेरै जिम्मेवार भएको महसुस गरेँ।
सबैले बाबुलाई धेरै माया गर्थे। उसलाई मात्र बोक्ने। उसैको बारेमा मात्र सोध्ने। श्रीमानले पनि पहिला त बाबुलाई बढी ध्यान दिनुभएकै हो। तर, नानी बोल्ने भएपछि बाबासँग बढी झ्याम्मिन थालिन् अनि अहिले त बाउछोरी एकदम मिल्ने भएको छ।
मानसिक रुपमा बाबुको पालोमा जस्तो त्रास नभए पनि शारीरिक रूपमा चैँ गाह्रो भयो। जे पनि गन्हाउने, बान्ता पनि बढी नै भयो। बाबुको समयमा त्यस्तो भएको थिएन। अनि तीन महिनापछि नै नानी पेटमा चल्न थालेको जस्तै भएको थियो। नानी पनि जन्मिँदा एकदम राम्री थिई।
मैले त अलि पछि मात्र देखेको, ममीहरूले हेर्नु हुँदा ऊ हेर्दै निकै बाठी जस्ती देखिन्थी रे। बाक्लो कपाल, ठूलठूला आँखा। दुई सन्तान भएपछि त झन् म उनीहरूमै बढी भुल्न थालेँ। अहिले उनीहरू स्कूल जान थालिसके। तर पनि तीन/चार महिना मात्र भयो मैले अलि बढी काममा ध्यान दिन पाएको।
एकल परिवारमा सन्तान हुर्काउन चैँ गाह्रो रहेछ। बच्चाहरू छिटो परिपक्व नै नहुने। उनीहरूलाई एकएक कुरा आफैँले सिकाउन पर्ने भयो। नत्र त घरमा परिवारको अन्य सदस्यसँग घुलमिल हुने, उनीहरूबाट पनि धेरै कुरा सिक्ने हुन्थ्यो नि! उनीहरूले त्यो चैँ छुटायो जस्तो लाग्छ।
एउटालाई हेर्दा, अर्कोलाई छुट्याएको जस्तो पनि हुने रहेछ। सुरुमा त धेरै गाह्रो भयो सँगै हुर्काउन। बाबुले त नानीले दूध खायो भने पिट्ने, रिसाउने नै गर्थ्यो। अनि ममीहरूले पनि फेरि ठूलोलाई धेरै नखुवाउ सानोलाई खुवाउ भन्नुहुन्थ्यो। त्यसले गर्दा पनि कसलाई कसरी हेर्ने भन्ने नै अन्योल पो भयो सुरुमा।
नानी जन्मिएको पहिलो दिनमै तातो भात खान पाएपछि निकै राहत भयो। अहिले पनि संयुक्त परिवारको कमी महसुस गरिरहेको हुन्छु। उनीहरूको हामी बाहेक कोही नभएको कारण अझ उसको ड्याडी भन्दा मेरै वरपर हुन्छन्। साँच्चिकै भन्ने हो भने सासु नहुनु एउटा ब्याडलक नै हो जस्तो लाग्छ।
बाबु अब नौ वर्षको हुँदैछ अनि नानी सात वर्षको। दुवै स्कूल जान थालेपछि धेरै सहज भएको छ। उनीहरूलाई स्कूल पुर्याउनु पनि निकै संघर्ष नै भयो। दुवै एकदम भिन्न स्वभावको छ। एउटा शान्त, अर्को तुफान। म घरमा कहिले कहीं ढिला गए भने उनीहरूले नै फोन गर्छ। म घर पुग्नुभन्दा अगाडि सुतिसकेको हुन्छ कहिले त। त्यो बेला चैँ मन चिसो भएर आउँछ।
मेरो छोरीले अहिले पनि ‘ममा तपाईंले दुई दिन हामीलाई छोडेर ढिला आउनु भएको छ’ भन्छे। उनीहरूको बाबा प्राय ढिला नै आउनुहुन्छ। तर, कहिले पनि त्यस्तो भनेको सुनेको छैन। त्यै भएर उनीहरूके लागि आमाको अलग्गै महत्व हुने रहेछ जस्तो लाग्छ।
अब मेरो योजना नै उनीहरु हो। उनीहरूलाई राम्रो समय दिन सक्यो अनि उनीहरूको राम्रो वृद्धिविकास भयो भने मलाई अरु केनै चाहियो र! उनीहरू मेरो वरपर रहँदा आफैँलाई पनि आनन्द लाग्छ। उनीहरूलाई राम्रोसँग समय दिँदा सकारात्मक प्रभाव पनि परेको छ। मातृत्व अनुभव भनेको जति सकारात्मक भयो त्यति राम्रो हुने रहेछ। आमाले नै इन्जोय गर्न सक्नुपर्ने रहेछ।
म आफैँ पनि रमाइरहेको छु। पहिलाको भन्दा झन् गम्भीर, जिम्मेवार हुन सकेको छु। बिहे अगाडि जुन प्रियंका थिएँ, आमा बनेपछि निकै फरक पाएको छु। खुसी पनि छु आफूमा आएको यो फरकपन लिएर। अब मलाई धेरै केहि चाहिएको पनि छैन। मेरो सन्तानकै वरपर भएर आफ्नो काममा निरन्तरता दिने प्रयास गर्नेछु।
फागुन ४, २०८१ आइतबार १४:५६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।