गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, लार्केपास हिँडेका रोकिए

गोरखा : गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले बताए।
चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले जानकारी दिए। हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ।
‘दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ’, लामाले भने।
हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले बताए। यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्न सक्ने अवस्था नहुने उनले बताए। उनले आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने बताए।
फागुन ३, २०८१ शनिबार २२:४२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।