अस्कर पुरस्कारमा ‘क्याटगरी फ्रड’ को विवाद

एजेन्सी : अस्कर पुरस्कार २०२५ को मनोनयनमा विवाद बढेको छ। कियरन कल्किन, जोई साल्डाना र एरिआना ग्रान्डेलाई मुख्य भूमिका निर्वाह गरेका फिल्म सहायक श्रेणीमा मनोनयन गरिएको विषयले विवाद बढाएको हो। यस वर्षको पुरस्कार मनोनयनमा देखिएको यो 'क्याटगरी फ्रड' सबैभन्दा गम्भीर रहेको विश्लेषकहरू बताउँछन्।
'ए रियल पेन' फिल्मका कल्किनले जेसी आइजेनबर्गसँगै मुख्य भूमिका खेलेका छन्। आइजेनबर्गको ६२ मिनेट र कल्किनको ५८ मिनेटको स्क्रिन समय रहेको यस फिल्ममा कल्किनलाई सहायक अभिनेताको क्याटगरीमा राखिएको छ। दुई दाजुभाइको कथामा आधारित यस फिल्ममा दुवै कलाकारको भूमिका बराबरी रहेको समीक्षकहरूको भनाइ छ।
'एमिलिया पेरेज' फिल्ममा सबैभन्दा बढी ५७ मिनेट ५० सेकेन्ड (४३.६९ प्रतिशत) देखिने साल्डानालाई पनि सहायक अभिनेत्रीमा मनोनयन गरिएको छ।
उनको प्रतिद्वन्द्वी कार्ला सोफिया गास्कोनको भन्दा बढी स्क्रिन समय हुँदाहुँदै उनलाई सहायक श्रेणीमा राखिएको हो। त्यसैगरी 'विकेड' फिल्मकी ग्रान्डेलाई पनि मुख्य भूमिका हुँदाहुँदै सहायक श्रेणीमा राखिएको छ।
अस्कर इतिहासका जानकार माइकल शुलम्यानका अनुसार एउटै फिल्मका दुई कलाकारलाई एउटै श्रेणीमा राख्दा मत बाँडिने र पुरस्कार जित्ने सम्भावना कम हुने भएकाले यस्तो रणनीति अपनाइएको हो। यद्यपि यो नयाँ प्रचलन भने होइन। यसअघि पनि थेल्मा एण्ड लुइस, क्यारोल, द डेनिस गर्ल जस्ता फिल्मका मुख्य कलाकारहरूलाई सहायक श्रेणीमा राखेर पुरस्कृत गरिएको छ।
स्क्रिन इन्टरनेसनलका अवार्ड सम्पादक चार्ल्स ग्यान्टका अनुसार यस्तो रणनीति अपनाउनु स्वाभाविक हो। तर लन्डन फिल्म क्रिटिक्स सर्कलका अध्यक्ष रिच क्लाइनले भने यसले वास्तविक सहायक भूमिका निर्वाह गर्ने कलाकारहरूलाई अन्याय गरेको बताएका छन्।
उनका अनुसार कन्क्लेभ फिल्मकी इसाबेला रोसेलिनी र एनोरा फिल्मका युरा बोरिसोभ जस्ता उत्कृष्ट सहायक कलाकारहरूले यसबाट मौका गुमाएका छन्।
अस्कर पुरस्कार वितरक संस्था अकादेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस र बाफ्टाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। सम्बन्धित फिल्मका प्रतिनिधिहरू पनि मौन छन्। तर सामाजिक सञ्जालमा भने यस विषयमा व्यापक बहस चलिरहेको छ।
विशेषज्ञहरूका अनुसार कुनै कलाकारको भूमिका मुख्य हो वा सहायक भन्ने निर्धारण स्क्रिन टाइमका आधारमा मात्र गर्न सकिँदैन। कथामा उनीहरूको महत्व, भावनात्मक यात्रा र चरित्र विकासलाई पनि ध्यान दिनुपर्छ। तर हालको अवस्थामा यी सबै पक्षलाई बेवास्ता गरी पुरस्कार जित्ने रणनीतिका लागि मात्र श्रेणी छनोट गरिएको आरोप लागेको छ।
फागुन ३, २०८१ शनिबार २०:४९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।