आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो

कास्की : पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा शनिवार भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो।
नेपालमा पहिलो पटक फुटबल खेल्न आएको उज्बेकिस्तान टोली पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो। ब्ल्याक बुलबुले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।
खेलको ४२औँ मिनेटमा उज्बेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाएका थिए। उनले फ्री किकमा गोल गर्न सफल भएका हुन्।
खेलको ५९औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे।
खेलको ७४औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो। प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुलबुले नगद १२ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले छ लाख एक हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पायो।
एमभिपी अवार्ड ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले पाएका छन्। उनी सर्वाधिक गोलकर्तासमेत बनेका हुन्। उनले टेलजी स्कुटर प्राप्त गरेका छन्।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदै जनही नगद २५ हजार र मेडल पुरस्कार प्राप्त गरे।
माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
फागुन ३, २०८१ शनिबार २०:२१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।