फायर क्रयाकर र हाइड्रोजन भरिएको बेलुनले निम्त्याएको दुर्घटना, मन्त्री र मेयरको अनुहारको ६ प्रतिशत जल्यो

काठमाडौं : २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिवार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो।
समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल। पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रम उद्घाटनमा सघाउँदै थिए।
उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए।
प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर क्रयाकर’ चलाइएको थियो। त्यसकै नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठुला झुप्पा नचाइँदै थियो।
मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति–प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक–एक झुप्पा दिए। मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन थियो।
भ्रमण वर्षको लोगो झुन्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुनमा आगोले छोए लगत्तै आगोको लप्कासहित भड्कियो। मन्त्री भागेर स्टेजतिर गए। मेयर स्टेजको देब्रेतिर भागे।
तर त्यो बेलासम्म आगोको लप्काले दुवैको अनुहारको भाग छोइसकेको थियो। विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमबारे आयोजकले ख्यालै गरेनन्। मञ्चमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेसमेत थिए।
मन्त्री र मुख्यमन्त्रीको सुरक्षामा नेपाली सेना र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए। उनीहरूले पनि सुरक्षा संवेदनशीलताको ख्यालै गरेनन्।
सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयर घाइते भए। आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मीले पोखरास्थित फिस्टेल अस्पताल पुर्याए। उनको अनुहार र हात जलेको थियो।
उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइयो। पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए। फिस्टेल एअरको हेलिकोप्टरबाट दुवै कीर्तिपुरमा रहेको बर्न अस्पतालमा भर्ना भए।
जलेको भागको मात्रा करिब ६ प्रतिशत भएकाले दुवैको अवस्था जोखिमपूर्ण भने छैन। चिकित्सकका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाइ गरे छालामा दाग बस्ने, सङ्क्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ।
मन्त्री र मेयर उच्च निगरानीमा
पोखरामा घाइते भएपछि दुवै हेलिकप्टरमा कीर्तिपुरको बर्न अस्पताल आएर भर्ना भए। चिकित्सकहरूका अनुसार प्रारम्भिक मूल्याङ्कनमा अनुहारको ५ देखि ६ प्रतिशत जलेको छ। अनुहारमा जलन भएकाले त्यसले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको छ।
दुवैको उपचारमा प्राडा. प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा.मनिष यादव खटिएका छन्। यसैगरि जलन विशेषज्ञहरू डा. प्रयास अर्याल लगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली संलग्न छन्।
आकाङ्क्षा धामी / नेपाल न्युज बैंक
फागुन ३, २०८१ शनिबार १९:२७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।