बेलुन पड्कँदा घाइते भएका मन्त्री र मेयरको कीर्तिपुरमा उपचार सुरु

काठमाडौँ : पोखरामा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।
शनिवार एक कार्यक्रममा बेलुनको झुप्पा उडाउनेक्रममा असावधानीवश आगोको झिल्काले छोएपछि बेलुनको झुप्पा नै बल्दा दुवै घाइते भएका थिए। पोखरामा सामान्य उपचारपछि दुबैलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो।
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ। उनको अवस्था जोखिममुक्त छ।
मेयर आचार्यको घाँटी र अनुहारको भागमा आगोको ज्वालाले छोएको थियो। बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवै जना अस्पतालमा भर्ना भएको र उपचार चलिरहेको बताए।
फागुन ३, २०८१ शनिबार १८:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।