गगन-शेखरलाई डा प्रकाशशरणको जवाफ ‘२०८२ भित्र पार्टी महाधिवेशन हुन्न’

गगन-शेखरलाई डा प्रकाशशरणको जवाफ ‘२०८२ भित्र पार्टी महाधिवेशन हुन्न’

चितवन : १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका वर्तमान कांग्रेस महामन्त्री गगन थापाले २०८२ मङ्सिरभित्र महाधिवेशन गराउन दबाब बढाउन सक्रिय छन्।

कांग्रेस विधान अनुसार चार वर्षभित्र पार्टी महाधिवेशन गर्नुपर्ने प्रावधान छ। पार्टीको १४ औँ महाधिवेशन २०७८ मङ्सिरमा भएकाले १५ औँ महाधिवेशन २०८२ मङ्सिरभित्र हुनुपर्ने देखिन्छ।

कार्यसमितिको म्याद थपेर २०८३ पूर्याए त्यसको असर २०८४ को निर्वाचनमा पर्ने भन्दै शेखर कोइरालागगन थापा लगायतका नेताहरू २०८२ भित्रै महाधिवेशन गराउने दबाब अभियानमा सक्रिय भइसकेका छन्।

पार्टी कार्यक्रमहरूमा गगनले भन्ने गरेका छन् २०८२ मा महाधिवेशन गर्नैपर्छ। २०८२ मंसिर उता महाधिवेशन एक जाँदैनदुई जाँदैनतीन जाँदैन। जान दिइन्न।

गगन मात्रै हैनअर्का नेता शेखर कोइराला पनि २०८२ भित्रै पार्टीको १५ औँ महाधिवेशन गराउनुपर्ने पक्षमा सक्रिय देखिन्छन्। तर पार्टी नेतृत्वमा पनि निष्क्रिय देखिन्छन्। तर पार्टी विधानमा तोकिएको अवधिमा महाधिवेशन नभए म्याद थप् नसक्ने प्रावधान छ। कतै वर्तमान नेतृत्वले विधानको त्यही प्रावधान टेकेर महाधिवेशनको मिति सार्ने त हैन भन्ने शङ्का संस्थापन इतर समूहमा देखिन्छ नै।

शनिवार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जसरी नि २०८२ भित्रै पार्टी महाधिवेशन हुने भनेर दाबी गर्दै हिँडिरहेका गगन अनि शेखर दुबैलाई एकै मञ्चबाट जवाफ दिए २०८२ भित्र पार्टीको महाधिवेशन सम्भव छैन।

पार्टीको १५औँ महाधिवेशनको तयारी पुगेको छैन। सर्न सक्छ। केही समय थप गर्न सकिन्छ उनले भने।

संस्थापक समूहका प्रभावशाली नेतामध्येका एक तथा पार्टीका प्रवक्ता समेत रहेका महतले २०८२ भित्र १५ औँ महाधिवेशन हुन नसक्ने बताए। कांग्रेसको विधानमा म्याद थप्न सकिने प्रावधान रहेको र कति समय थप हुने भन्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनले बताए।

शुक्रवार डा महतसहित संस्थापन समूहका प्रभावशाली नेताहरू बुढानीलकण्ठमा रहेको पार्टी सभापति शेरबहादुर देउवा निवास गएर १५ औँ महाधिवेशनको मिति, समूहबाट पार्टी सभापतिको उम्मेदवार लगायतका विषयमा छलफल गरेको थियो। छलफलको दोस्रो दिनमै डा महतले २०८२ भित्र १५ औँ महाधिवेशन हुन नसक्ने दाबी आउनुलाई शुक्रवारको छलफलको प्रभावको रूपमा हेर्न सकिन्छ। जसरी नि २०८२ भित्रै १५ औँ महाधिवेशन गरिन्छ भन्ने दाबी गर्दै हिँडेका शेखर र गगनलाई उनले एकै मञ्चबाट जवाफ समेत दिए।

शेखर र गगनको अलग समूह

डा शेखर र गगनले १५ औँ महाधिवेशन केन्द्रित गरेर अभियान सुरु गरिसकेका छन्। १४ औँ महाधिवेशनमा शेखर र गगन मिलेर सभापति र महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए।

१५ औँ महाधिवेशनमा भने यी दुवैको आ-आफ्नै समूह हुने देखिन्छ। शेखरले १५ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवारका रूपमा अभियान अगाडि बढाइसकेका छन्। गगनले पनि १५ औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेर राजनीतिक गतिविधि सुरु गरिसकेका छन्।

गगन समूहबाट सभापतिमा उनी उम्मेदवार बन्ने देखिए पनि उनको समूहमा को-को हुने भन्ने खुलेको छैन। उनको समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्री पदका पराजित प्रदीप पौडेल देखिन्छन्।

गगन सभापति, विश्वप्रकाश उपसभापति र पौडेल महामन्त्रीको उम्मेदवारको रूपमा हेरिए पनि यी दुवैले भने मुख खोलिसकेका छैनन्। यता सरकारमा स्वास्थ्यमन्त्री भएका प्रदीप एकपछि अर्को आर्थिक अपचलन र खरिद विवादमा जोडिएर बदनाम हुँदै गएकाले गगन समूहले महामन्त्रीमा नयाँ नेता तयार पार्ने सम्भावना पनि देखिन्छ।

उता शेखर समूहमा पनि अहिले सभापतिमा उनी एक्लै उम्मेदवार देखिएका छन्। उनले पनि टिम सार्वजनिक गर्न सकेका छैनन्। यस अगाडि इतर समूहबाट उपसभापति रहेका धनराज गुरुङ सहकारी ठगीमा जोडिएर विवादमा छन्। मीनेन्द्र रिजाल राजनीतिमा त्यति सक्रिय देखिएका छैनन्।

अलमलमै संस्थापन

पार्टी सभापति जितेसँगै संस्थापन इतरबाट संस्थापन समूह बनेको समूह पनि अन्योलमै देखिन्छ। शेरबहादुर देउवालाई सभापति उम्मेदवार हुन विधानलेनै रोक्छ। संस्थापक पक्षबाट सभापतिको उम्मेदवार को हुने भन्ने नटुङ्गिँदा सो समूहका नेताहरू अलमलमा छन्।

यो समूहबाट सभापतिमा पूर्णबहादुर खड्काविमलेन्द्र निधी र कृष्ण सिटौला आकाङ्क्षी देखिन्छन्। १४ औँ महाधिवेशनमा कतै नखुलेर शेखरलाई असहयोग गरेका शशाङ्क कोइराला पनि अहिले देउवा समूह निकट छन्। उनी शुक्रवारको भेलामा सहभागी भएका थिए।

टिममा अन्य पदाधिकारीहरू को हुने यो समूह पनि प्रस्ट खुलिसकेको छैन। उपसभापतिमा डा आरजु राणा, महामन्त्रीमा रमेश लेखकले आन्तरिक तयारी गरिरहेको देखिन्छ।

एनपी साउदले पनि महामन्त्रीका इच्छा देखाए पनि उनी देउवा क्याम्प छाडेर गगनतिर लागेको चर्चा चलेको थियो। तर उनको पक्षका नेताहरूले भने उनी देउवा समूहमै रहेको दाबी गर्दै आएका छन्।

देउवा समूहका बलिया नेता मानिने बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालती पक्रियामै छन्। आन्तरिक समीकरणमा प्रभाव पार्न सक्ने भए पनि उनी कार्यसमितिको बलियो पदमा उम्मेदवार बन्ने सम्भावना देखिन्न। डा प्रकाश शरण महत उप सभापतिको तयारीमा देखिएका छन्।

फागुन ३, २०८१ शनिबार १७:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।