डा शेरजंगको ‘किज अफ हाउ टु डेभलप नेपाल’ पुस्तक सार्वजनिक

काठमाडौँ : डा शेरजङ्गबहादुर चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक भएको छ। इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तक शनिवार सार्वजनिक भएको हो।
पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा रणनीति, नीति र उपायहरू सरल रूपमा लेखिएको लेखक चन्दले जानकारी दिए।
नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उनले बताए।
शहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारमा जोड दिइएको लेखक चन्दले बताए।
पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठुला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिलगायतका विषय समेटिएको उनले जानकारी दिए।
मुलुकको विकासमा स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधारसँग सम्बन्धित विषय पुस्तकमा समेटिएका छन्।
फागुन ३, २०८१ शनिबार १६:५१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।